काठमाडौं । घरेलु टोली श्रीलंकाले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय(ओडिआई) मा अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
हम्मनटोटामा भएको खेलमा घरेलु टोली १ सय ३२ रनको फराकिलो अन्तरले विजयी भएको हो । जितसँगै घरेलु टोलीले तीन खेलको ओडिआई सिरिजमा १-१ को बराबरी गरेको छ ।
घरेलु टोलीले दिएको ३ सय २४ रनको लक्ष्य पछ्याएको पाहुना टोली ४२ दशमलब १ ओभरमा अलआउट हँदै १ सय ९१ रनमा समेटियो ।
पाहुना टोलीका लागि ओपनर ईब्राहिम जाड्रान र कप्तान हशमतुल्लाह शाहिदीले अर्धशतकीय ईनिङ खेले पनि टोलीको हार टार्न भने सकेनन् ।
जाड्रानले ७५ बलमा २ चौका र २ छक्काको सहयोगमा ५४ रन बनाए । कप्तान शाहिदीले ६२ बलमा ६ चौकाको सहयोगमा ५७ रन बनाए ।
१ सय ४६ रनमा २ विकेट गुमेको अवस्थामा रहेको अफगानि टोलीले बाँकी ८ विकेट ४५ रन जोड्दा गुमाएको थियो ।
तेस्रो विकेटका लागि जाड्रान र शाहिदीले ८४ रनको साझेदारी गरेका थिए । त्यसपछि निरन्तर विकेट गुमाए पश्चात पाहुना टोलीले हार व्यहोर्न पुग्यो ।
रहमत शाहले ३६ तथा अजमतुल्लाह उमरजाईले २८ रन बनाए । पाहुना टोलीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
घरेलु टोलीका वानिन्दु हशरंगा र धनन्जय डा शिल्भाले समान ३/३ तथा दुश्मन्था चमिराले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रन बनायो ।
श्रीलंकाका कुशल मेन्डिस र दिमुथ करुणारत्नेले अर्धशतकीय ईनिङ्स खेले । मेन्डिसले ७५ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७८ रनको योगदान दिए । त्यस्तै, करुणारत्ने ६२ बलमा ७ चौकासहित ५२ रन बनाए ।
श्रीलंकालाई ओपनरद्वय पाथुम निसंका र दिमुथ करुणारत्नेले पहिलो विकेटका लागि ८२ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । निसंकाले ५६ बलमा ६ चौकासहित ४३ रन बनाए ।
सदिरा समाराविक्रमा ४६ बलमा ५ चौकासहित ४४ तथा कप्तान दासुन शनका २३ रनमा आउट भए । वानिन्दु हसरंगा १२ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे ।
धनन्जय डि सिल्भा २४ बलमा १ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे ।
पाहुना टोलीका लागि मोहम्मद नाबी र फरिद अहमदले समान २/२ तथा मुजिब उर रहमान र नूर अहमदले समान १/१ विकेट आफ्नो नाममा गरे ।
तेस्रो तथा निर्णायक ओडिआई खेल आगामी बुधबार रहेको छ ।