काठमाडौं। लिओनल मेसीले अमेरिकन सकर लिग (एमएलएस) करिअरको सबैभन्दा ठूलो हार बेहोरेका छन्। उनको टोली इन्टर मियामी शनिबार मिनेसोटा युनाइटेडसँग ४–१ ले पराजित भएको हो।
अर्जेन्टिनी स्टार मेसीले दोस्रो हाफमा एक गोल गरे तापनि मियामीको कमजोर डिफेन्स फेरि उजागर भयो। त्यसैले गर्दा टोलीले पछिल्ला पाँचमध्ये चार खेलमा हार बेहोर्नुपर्यो। ती पाँच खेलमा मियामीले १४ गोल खाएको छ।
लुइस सुआरेज चोटग्रस्त भएकाले प्रशिक्षक जेभियर माश्चेरानोले स्ट्राइकरविहीन रणनीति अपनाएका थिए। उनले मेसीलाई पाँच मिडफिल्डरको अगाडि स्वतन्त्र रूपमा खेलाएका थिए।
३२औं मिनेटमा जोआक्विन पेरेयराबाट कार्लोस हार्भी हुँदै आएको पासलाई दक्षिण अफ्रिकी स्ट्राइकर बोंगोखिमे ह्लोङ्वानेले गोलमा परिणत गर्दै मिनेसोटालाई अग्रता दिलाए।
६ मिनटपछि मेसीले पहिलो पटक आफ्नो उपस्थिति अनुभूति गराउँदै डिफेन्सबीच केही स्पेस पाए पनि उनको शट कमजोर रह्यो। पहिलो हाफको अन्त्यमा माइकल बक्सालको लामो थ्रो इनलाई निकोलास रोमेरोले हेडर गरेर अगाडि बढाए। जसलाई एन्टोनी मार्कानिचले पछिल्लो पोस्टमा हेडर गर्दै गोलमा परिणत गरे।
दोस्रो हाफको तेस्रो मिनेटमा जोर्डी आल्बाबाट पास पाएपछि मेसीले आफ्नो ट्रेडमार्क पहिलो टच र घातक फिनिशमार्फत गोल फर्काउँदै खेल २–१ बनाए।
तर, मिनेसोटाले तत्कालै खेलमा फर्कियो। टानी ओलुवासेयीको कर्नर हेडरलाई मियामी डिफेन्डर मर्सेलो वेगान्टले आफ्नै पोस्टमा गोल गरे। त्यसपछि ओलुवासेयीले नोआ एलनलाई पछ्याउँदै बल रोबिन लोडलाई पास गरे। बक्सको छेउबाट साइड फुट फिनिस गर्दै गोल गरे। योसँगै मिनेसोटा ४–१ ले विजयी भयो।
खेलपछि माश्चेरानोले योजनामा स्ट्यान्ड-इन फरवार्ड फाफा पिकाउल्टलाई खेल अघि माइग्रेन भएपछि समस्या परेको बताए। ‘मिनेसोटाले ट्रान्जिसन र सेट पिसमार्फत हानी पुर्याउन सक्छ भन्ने हामीलाई थाहा थियो र त्यही भयो। जुन कुराको तयारी गरेका थियौं, त्यहीबाट पराजित भयौं,’ उनले भने।