पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)मा आर्थिक विषयमा छानबिन गर्न सुरु भएसँगै अध्यागमन विभागले अध्यक्ष पंकजविक्रम नेम्वाङसहित २४ जनाको पासपोर्ट गत शुक्रबारदेखि कालोसूचीमा राखेको छ।
तर, एन्फाकै कर्मचारी रहेका एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) इन्द्रमान तुलाधर भने कालोसूचीमा परे पनि सुटुक्क क्यानडा पुगेका छन्।
एन्फा स्रोतका अनुसार उनी भारतीय बाटो हुँदै बिहीबारदेखि सुरु हुने ७६औं फिफा कंग्रेसमा सहभागी हुन क्यानडा पुगेका हुन्। ‘एन्फा अध्यक्ष र कर्मचारीसहित २४ जनाको पासपोर्ट विभागले कालोसूचीमा राखेको थियो। तर, उहाँ (इन्द्रमान) भने खोइ कसरी मंगलबार नै काठमाडौं–भद्रपुर–सिलिगुडी हुँदै भ्यानकुभर, क्यानडा पुग्नुभएको छ,’ ती पदाधिकारीले खेलपाटीसँग भने।

तुलाधर संकटा क्लबका अध्यक्षसमेत हुन्। २०६३ सालदेखि उनी लगातार एन्फामा कुनै न कुनै भूमिकामा रहेका थिए। २०७९ असारमा भएको निर्वाचनमा कर्मा छिरिङ शेर्पाको प्यानलमा उनी पनि थिए। तर, कर्मा छिरिङ अध्यक्षमा पंकजविक्रम नेम्वाङसँग पराजित भएपछि तुलाधरको एन्फाबाट बहिर्गमन भएका थिए।
तर, २ पुस २०८० मा खुला प्रतिस्पर्धाको निर्णयलाई छलेर नेम्वाङ नेतृत्वको कार्य समितिले तुलाधरलाई सिधै सीइओमा नियुक्त गरेको थियो। त्यसयता उनी एन्फाका कर्मचारीको हैसियतमा काम गरिरहेका थिए।
यद्यपि, राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उनी कार्यरत एन्फालाई गत ११ चैतमा ३ महिनाका लागि गरेको थियो। त्यसपछि एन्फामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि राखेपले छानबिन गर्न भन्दै कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो।

सोही समितिले आर्थिक विषयमा छानबिन गर्न भन्दै नेम्वाङसहितका पदाधिकारीको पासपोर्ट कालोसूचीमा राख्न पत्राचार गरेको थियो। उक्त पत्र युवा तथा खेलकुद मन्त्रालय हुँदै गृह मन्त्रालय पुगेपछि अध्यागमनलाई पत्र पठाएर २४ जनाको पासपोर्ट कालोसूचीमा राखिएको थियो।
तर, तुलाधर भने पासपोर्ट कालोसूचीमा परेकै बेला भ्यानकुभर पुगेका हुन्। उनीसँगै जाने तयारीमा रहेका अध्यक्ष नेम्वाङ भने काठमाडौंमै रोकिएका छन्।
‘पंकजजी पनि जाने तयारीमा हुनुहुन्थ्यो। तर, अध्यागमन विभागबाट पासपोर्ट कालोसूचीमा परेपछि उहाँ रोकिनु भएको छ। तर, सीओइ भने भ्यानकुभरमा पुगिसक्नु भएको छ। उहाँले नै कांग्रेसमा भाग लिनुहुन्छ। पंकजजीले भर्चुअल उपस्थिति जनाउनुहुन्छ,’ ती एन्फा पदाधिकारीले भने।









%20(1)-1777447778534.jpeg&w=3840&q=75)


