पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

काठमाडौं। डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले मंगलबार च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा पाहुना टोली बायर्न म्युनिखलाई ५–४ ले हराउँदै रोमाञ्चक जित हात पारेको छ।
प्रतियोगिताको यस चरणमा यति धेरै गोल भएको यो खेलमा नयाँ कीर्तिमानसमेत बनेको छ। यो खेल साँच्चै क्लासिकको रूपमा सम्झिने खालको रह्यो।
सुरुआती गोल खाएपछि पीएसजीले उत्कृष्ट पुनरागमन गर्दै ५–२ को अग्रता बनाएको थियो। ख्विचा क्भारात्स्खेलिया र उस्मान डेम्बेलेले दुई–दुई गोल गरे।
तर, खेलको लगभग एक घण्टा नजिकिँदै गर्दा बायर्नले तीन मिनेटमै दुई गोल फर्काउँदै अर्को साता म्युनिखमा हुने दोस्रो लेगका लागि आफ्नो आशा जीवित राख्यो। दुवै टोली यस सिजनका सबैभन्दा आक्रामक टोलीहरू भएकाले खेल सुरुदेखि नै तीव्र गतिमा अघि बढ्यो।

बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पानी निलम्बनका कारण दर्शकदीर्घामा थिए भने उनका सहायक आरोन ड्याङ्क्स टोलीको नेतृत्व गरिरहेका थिए। पीएसजीका प्रशिक्षक लुइस एनरिकेले भने,‘हामी निकै खुसी छौं। जित्न योग्य थियौं, तर बराबरी वा हार पनि हुन सक्थ्यो, किनभने खेल अत्यन्त अविश्वसनीय थियो। यस्तो गतिमा भएको खेल मैले कहिल्यै देखेको थिइनँ। प्रतिद्वन्द्वीलाई पनि बधाई दिनुपर्छ। दोस्रो लेग पनि उत्तिकै कठिन हुनेछ।’
१७औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत बायर्नलाई अग्रता दिलाए। उनी लगातार ६ च्याम्पियन्स लिग खेलमा गोल गर्ने पहिलो इङ्लिस खेलाडी बनेका छन्। उनले माइकल ओलिसेलाई उत्कृष्ट पास पनि दिए। तर, उनको प्रहार लाइनमै रोकियो।
२३औं मिनेटमा डेम्बेलेले बराबरीको राम्रो अवसर गुमाए। तर, क्भारात्स्खेलियाले सुन्दर गोल गर्दै स्कोर बराबरी बनाए। त्यसपछि ३३औं मिनेटमा जोआओ नेभेसले हेडरमार्फत पीएसजीको अगाडि बढाए।

४१औं मिनेटमा ओलिसेले गोल गर्दै बायर्नलाई फेरि बराबरीमा ल्याए। तर, पहिलो हाफको इन्जुरी समयमा पीएसजीले पेनाल्टी पायो। डेम्बेलेले गोल गर्दै आफ्नो टोलीलाई पुनः अग्रता दिलाए।
दोस्रो हाफ सुरु भएको केही समयमै पीएसजीले आफ्नो दबाब कायम राख्दै ५६औं मिनेटमा क्भारात्स्खेलियाको गोलबाट दुई गोलको अग्रता बनायो। त्यसको दुई मिनेटपछि डेम्बेलेले फेरि गोल गर्दै स्कोर ५–२ पुर्याए।
तर, बायर्नले हार नमानी तीन मिनेटको अन्तरमा डयोत उपामेकानो र लुइस डियाजमार्फत दुई गोल फर्कायो। अन्तिम समयमा पीएसजीका सेनी मयुलुले पोस्टमा प्रहार गरे पनि थप गोल हुन सकेन।
बायर्नका डिफेन्डर जोनाथन ताहले भने,‘हामी हार्यौं तर हामी कस्तो टोली हौं भन्ने देखायौं। हामी घरेलु मैदानमा दुई गोलले जित्न सक्छौं भन्ने विश्वास छ र फाइनल पुग्न सबै प्रयास गर्नेछौं।’












