च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

काठमाडौं। तेस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले सोमबार प्रिमियर लिगमा ब्रेन्टफोर्डमाथि घरेलु मैदानमा २–१ को जित निकाल्दै पछ्याइरहेका लिभरपुल र एस्टन भिल्लामाथि अंकको दूरी बढाएको छ।
यस जितसँगै युनाइटेडले आफ्ना प्रतिस्पर्धीभन्दा ३ अंकले अग्रता बनाएको छ। योसँगै सन् २०२४ पछि पहिलो पटक अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ।
कासेमिरोले खेलको ११औं मिनेटमा पछाडिको पोस्टमा पुगेर हेडमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। अगस्ट २०२२ मा क्लबमा आबद्ध भएयता उनको यो ११औं हेड गोल हो। एर्लिङ हालान्ड (१८), ओली वाटकिन्स (१६) र क्रिस वुड (१३) मात्र उनीभन्दा अगाडि छन्।
पहिलो हाफ रोमाञ्चक रहँदा ब्रेन्टफोर्डले राम्रो प्रतिस्पर्धा गरे पनि युनाइटेडले अग्रता दोब्बर बनायो। बेन्जामिन सेश्कोले ब्रुनो फर्नान्डेसको सजिलो पासलाई सदुपयोग गर्दै तीव्र काउन्टर आक्रमणमा गोल गरे।
यससँगै फर्नान्डेसले यस सिजन आफ्नो १९औं असिस्ट दिएका छन्, जुन लिगकै उच्च हो। प्रिमियर लिगको कीर्तिमान बराबरी गर्न उनी एक असिस्ट मात्र टाढा छन्।
‘म र ब्रुनो फर्नान्डेस प्रशिक्षणमा धेरै काम गर्छौं र त्यसको फल पाइरहेका छौं,’ सेश्कोले भने,‘यस्तो गुणस्तर भएको सहकर्मी हुनु खुशीको कुरा हो र मैले त्यसलाई उपयोग गर्नुपर्छ।’
दोस्रो हाफ तुलनात्मक रूपमा शान्त रह्यो, तर दुवै टोलीले अवसर पाए। विशेषगरी ब्रेन्टफोर्डले अवसरहरू सदुपयोग गर्न सकेन। ८७औं मिनेटमा माथियास येन्सेनले टाढाबाट गरेको गोलले केही आशा जगाए पनि युनाइटेडले जित जोगायो। यसले कीथ एन्ड्रुजको टोलीलाई अर्को निराशाजनक नतिजा दिलायो।
‘निकै निराशाजनक,’ एन्ड्रुजले बीबीसीसँग भने,‘समग्रमा हाम्रो प्रदर्शन राम्रो थियो। हामीले बलियो टोलीसँग बराबरी प्रतिस्पर्धा गर्यौं र खेलका धेरै समय नियन्त्रणमा राख्यौं। तर, उनीहरू हामीभन्दा बढी प्रभावकारी रहे।’
ब्रेन्टफोर्ड नवौ| स्थानमा यथावत् छ। उसको अंक चेल्सी र फुलहमसँग बराबर छ। यद्यपि, टोलीले फेब्रुअरीयता लिगमा जित निकाल्न सकेको छैन। तर, पहिलो पटक युरोपियन प्रतियोगितामा स्थान बनाउने आशा भने जीवितै छ र एन्ड्रुज यसमा आशावादी देखिन्छन्।
‘हामीले गर्ने हरेक कुरामा पूर्ण विश्वास छ,’ उनले भने,‘हामी सुरक्षित खेल खेल्दैनौं, म टोलीलाई त्यस्तो बनाउन चाहन्न। आज हामीले उत्कृष्ट टोलीविरुद्ध साहसी शैलीमा खेल्यौं, तर दुर्भाग्यवश लक्ष्य हासिल गर्न सकेनौं।’












