मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

काठमाडौं। गालाको हड्डी भाँचिएपछि लुका मोड्रिचको एसी मिलानसँगको क्लब सिजन लगभग समाप्त भएको छ। तर, क्रोएशियाका कप्तान विश्वकपका लागि भने फिट हुने अपेक्षा गरिएको छ।
आइतबार युभेन्ट्ससँग गोलरहित बराबरी खेल्दा विपक्षी मिडफिल्डर म्यानुएल लोकाटेल्लीसँग हेडका लागि प्रतिस्पर्धा गर्ने क्रममा चोट बोकेका थिए। त्यसपछि मोड्रिच खेलको अन्त्यतिर मैदान छाड्न बाध्य भएका थिए।
सोमबार गरिएको परीक्षणले उनको बाँया गालाको हड्डी भाँचिएको देखाएको थियो। केही घण्टापछि उनको शल्यक्रिया गरिएको थियो। मिलानले पनि बाँया जाइगोम्याटिक हड्डीको जटिल बहुखण्डीय भाँचिएको जनाएको छ। तर, शल्यक्रिया पूर्ण रूपमा सफल भएको बताएको छ।
क्लबले मोड्रिच कति समय मैदान बाहिर रहनेछन् भन्ने खुलाएको छैन। यद्यपि, सिरी ‘ए’ मा अब चार चरणका खेलहरू मात्र बाँकी छन्। ‘फिफा विश्वकपअघि लुकालाई शीघ्र स्वास्थ्यलाभको कामना!,’ मिलानले भनेको छ।
क्रोएशियाले सात हप्तापछि जुन १७ मा इंग्ल्याण्डविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ। समूह ‘एल’मा उसले पनामा र घानासँग पनि खेल्नेछ।
‘मैले लुकासँग कुरा गरेको छु,’ क्रोएशियाका प्रशिक्षक ज्लात्को डालिचले सामाजिक सञ्जालमार्फत भने, ‘उनको सफल शल्यक्रिया र छिटो स्वास्थ्यलाभको कामना गरेको छु। कप्तानका रूपमा लुकाले यस गर्मीयाममा अर्को ठूलो प्रतियोगितामा टोलीको नेतृत्व गर्नेछन्।’
रियल मड्रिडसँग १३ ट्रफी जितेका मोड्रिचलाई गत समरमा एसी मिलानसँग अनुबन्ध गरेको थियो। उनी एक वर्षे सम्झौतामा भित्रिएका हुन्। उनीसँग अर्को एक वर्ष थप्ने विकल्प पनि छ।
एसी मिलानका समर्थकका रूपमा हुर्केका ४० वर्षीय मोड्रिच टोलीका महत्त्वपूर्ण खेलाडी रहेका छन्। उनले ३४ मध्ये ३२ लिग खेलमा सुरुआती टोलीमा स्थान पाएका छन् र एकपटक मात्र बेन्चमा बसेका छन्।
आइतबारको खेलमा उनी ‘म्यान अफ द म्याच’ समेत घोषित भएका थिए।












