पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

काठमाडौं। आर्सनललाई गत सिजननै च्याम्पियन्स लिगको फाइनलमा पुग्ने अवसर थियो। तर, सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट–जर्मेन (पीएसजी)सँग १–० को हार बेहोरेको आर्सनलले अर्को लेगमा पनि नतिजा उल्टाउन सकेन।
समग्रमा ३–१ को हार बेहोर्दै सन् २००९ पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको आर्सनलले आफ्नो सुनौलो अवसर गुमायो।
गत सिजनको यो निराशाजनक नतिजापछि प्रशिक्षक मिकेल आर्टेटाले यसपटक आफ्नो टोलीले पाएको यस्तै अवसरलाई सदुपयोग गर्दै फाइनलमा पुग्ने तयारीमा छन्। च्याम्पियन्स लिगको सेमिफाइनल यसपल्ट उनको टोलीले बुधबार एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ।

‘यो अद्भुत अवसर हो। यस अवसरलाई हामी सदुपयोग गर्नेछौं। यसपल्ट तपाईंले मैदानमा जित्न चाहने, खेलमा प्रभुत्व जमाउन खोज्ने टोली देख्नुहुनेछ,’ उनी भन्छन्।
यसपटक भने उनी क्लबलाई युरोपको शीर्ष क्लब प्रतियोगिताको फाइनलमा पुर्याउने लक्ष्यमा छन्। यसै साता आर्सनलको प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको अग्रता म्यानचेस्टर सिटीले घटाएर तीन अंकमा झारेको छ।
तर, आर्सनलले एक खेल कम खेलेको छ। साथै, साउथह्याम्प्टनसँग पराजित हुँदै आर्सनल एफए कपबाट बाहिरिएको थियो। तर, सप्ताहन्तमा न्युक्यासल युनाइटेडमाथि १–० को जितले टोलीलाई नयाँ आत्मविश्वास दिएको छ।
मड्रिडमा बुधबार हुने पहिलो लेगअघि आर्टेटाले भने,‘न्युक्यासलविरुद्धको जित हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण थियो। त्यसपछि टोलीमा आएको ऊर्जा र आत्मविश्वास स्पष्ट देखिन्थ्यो। लगातार दुई वर्ष च्याम्पियन्स लिग सेमिफाइनलमा पुग्नु ठूलो गौरवको कुरा हो।’

आर्सनल यस सिजनको प्रतियोगितामा अपराजित रहने एक मात्र टोली हो। यद्यपि, यो टोलीले पछिल्लो चरणमा बार्सिलोनालाई हराएको एट्लेटिकोसँग खेल्दैछ। आर्टेटाले भन्छन्, ‘हामी खेलको कठिनाइबारे जानकार छौं। तर, युरोपमा हामीले जहाँ खेले पनि आफ्नो क्षमता देखाएका छौं। हामी निरन्तर रूपमा राम्रो प्रदर्शन गरिरहेका छौं र भोलि पनि त्यही आत्मविश्वास र जित्ने चाहनाका साथ मैदानमा उत्रनेछौं।’
अक्टोबरमा लन्डनमा भएको लिग चरणको खेलमा आर्सनलले एट्लेटिकोलाई ४–० ले हराएको थियो। तर, गत सिजन पनि उनीहरूले यही चरणमा पीएसजीलाई हराएपछि अन्ततः सेमिफाइनलमै पराजित हुन पुगेको थियो। यद्यपि, आर्टेटाले यसबारे खेलाडीहरूसँग चर्चा नगरेको बताए।
उनले भने,‘त्यो सकारात्मक सन्देश होइन, त्यसैले मैले त्यसबारे कुरा गरेको छैन। हामीसँग टोलीलाई दिने धेरै सकारात्मक सन्देशहरू छन्। हामीले अघिल्लो खेलबाट केही कुरा सिकेका छौं, तर भोलिको खेल पूर्ण रूपमा फरक हुनेछ, विशेष गरी यहाँ खेल्दा।’









%20(1)-1777447778534.jpeg&w=3840&q=75)


