अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

काठमाडौं। फ्रान्सेली फुटबल खेलाडी एन्टोनियो ग्रिजम्यानले बुधबार एट्लेटिको मड्रिडका लागि आफ्नो अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा उत्कृष्ट प्रदर्शन गरे।
ग्रिजम्यानले केही राम्रा अवसर पाए पनि गोल गर्न सकेनन्। जुलियन अल्भारेजसँग मिलेर टोलीको आक्रमण सम्हाले र आर्सनलसँगको सेमिफाइनलको पहिलो खेल १–१ को बराबरीमा सकिँदा खेलको उत्कृष्ट खेलाडी घोषित भए।
‘गोल गर्न नसकेकोमा अलि दुःख लागेको छ,’ ग्रिजम्यानले भने, ‘तर, दोस्रो खेलमा अवश्य हुनेछ। हामी सबैले राम्रो प्रयास गर्यौं।’ मेट्रोपोलिटानो रंगशालामा उनको सबैभन्दा राम्रो अवसर दोस्रो हाफमा बनेको थियो। तर, उनको प्रहार क्रसबारमा लाग्यो। उनले पेनाल्टी क्षेत्रभित्रबाट पनि राम्रो प्रहार गरेका थिए।
३५ वर्षीय ग्रिजम्यानले सन् २०१६ को च्याम्पियन्स लिग फाइनलमा पेनाल्टी छुटाएका थिए। उक्त खेलमा एट्लेटिको मड्रिड रियल मड्रिडसँग पराजित भएको थियो।
‘हामी फाइनलमा पुग्न चाहन्छौं,’ उनले भने,‘यो मेरो सपना हो। मैले यस खेल र लन्डनमा हुने दोस्रो खेलका लागि धेरै तयारी गरेको छु र आशा छ हामी फाइनल पुग्नेछौं।’
ग्रिजम्यानका अनुसार दोस्रो हाफमा सुधार गरेपछि टोलीले अझ राम्रो नतिजा निकाल्न सक्थ्यो। ‘पहिलो हाफका खराब क्षणहरूले असर गर्यो,’ उनले भने,‘हामीले दोस्रो हाफमा केही रणनीतिक परिवर्तन गर्यौं र राम्रो दबाब दिन तथा खेल चलाउन सफल भयौं। दर्शकहरूको समर्थनले पनि मद्दत गर्यो।’
ग्रिजम्यान एट्लेटिकोका सर्वाधिक गोलकर्ता हुन्। तर, यस सिजन प्रशिक्षक डिएगो सिमियोनेले उनको खेल्ने समय व्यवस्थापन गर्दै आएका छन्। उनले एट्लेटिकोमा १० सिजन बिताएका छन् र रियल सोसिडाड तथा बार्सिलोनाबाट पनि खेलेका छन्।
एट्लेटिकोका मिडफिल्डर कोके रेसुरेक्सियोनले भने,‘हामी सबै फाइनलमा पुग्न चाहन्छौं। आशा छ लन्डनको खेल ग्रिजम्यानका लागि यस प्रतियोगिताको अन्तिम खेल हुनेछैन।’










%20(1)-1777447778534.jpeg&w=3840&q=75)

