काठमाडौं। नेपालले साफ यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।
भारतको युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा खेल नेपाली समयअनुसार ७:४५ बजे हुनेछ। नेपाल श्रीलंका हालसम्म दुईपल्ट मात्रै प्रतियोगितामा आमुन्नेसामुन्ने भएका छन्। ती दुई खेलमा नेपालले अहिलेसम्म हार बेहोर्न परेको छैन।
सन् २०२२ मा भएको साफ यु–२० च्याम्पियनसिपमा भएको पहिलो भेटमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको थियो। उक्त खेलमा आयुष घलान, कृतिशरत्न छुन्जु र मनांग्य नकर्मीले गोल गरेका थिए।
गत वर्ष घरेलु मैदानमै भएको प्रतियोगितामा पनि नेपालले श्रीलंकामाथि १–० को कठिन जित निकालेको थियो। उक्त जितमा नीरन्जन धामीले गरेको गोल नै निर्णायक बनेको थियो।
साफ यु–२० च्याम्पियनसिपकै नामबाट भएको उक्त प्रतियोगितामा नेपाल फाइनल पुग्दा श्रीलंका भने अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिएको थियो। उपाधि जित्ने लक्ष्यसाथ भारत पुगेको नेपाली टोली यही लयलाई कायम राख्दै सुखद् सुरुआत गर्ने तरखरमा हुनेछ।