काठमाडौं। नेपाली राष्ट्रिय टोलीको उपकप्तानीको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले पुन: पाएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) शनिबार उनलाई पुन: उपकप्तानी जिम्मेवारी दिएको हो। सेन्ट्रल कन्ट्र्याकको विषयमा क्यान र खेलाडीबीच विवाद भएपछि २०७८ मंसिर २९ गते दीपेन्द्रसहित तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र कमलसिंह ऐरी कारबाहीमा परेका थिए।
यी चार जनालाई क्यानले सुरुको ६ महिना सेन्ट्रल कन्ट्र्याक नगर्ने निर्णय गरेको थियो। यस्तै, ज्ञानेन्द्रबाट कप्तानी र दीपेन्द्रबाट उपकप्तानी जिम्मेवारी क्यानले खोसेको थियो।
त्यसपछि नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले पाएका थिए। उनी नाबालिक बलात्कारको अभियोगमा परेपछि रोहितकुमार पौडेललाई उक्त जिम्मेवारी क्यानले सुम्पिएको थियो। तर, उपकप्तानको जिम्मेवारी भने क्यानले कसैलाई दिएको थिएनन्।