मोरङ, पथरी। टिम भुल्केले दोस्रो पथरीशनिश्चरे खेलकुद महोत्सवअन्तर्गत क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा टिम भुल्केले टिम सेल्फीलाई ७१ रनले पराजित गरेको हो।
भुल्केले दिएको १५० रनको लक्ष्य पछ्याएको टिम सेल्फी १५.३ ओभरमा ७९ रनमै अलआउट भयो। टोलीका लागि सोलोमन राईले सर्वाधिक २४ रन बनाए।
भुल्केका दिपेश भण्डारीले एक्लैले ५ विकेट लिए। नेल्सन दंगाल र एन्जल राईले समान २/२ विकेट झारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको टिम भुल्केले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५० रन बनाएको थियो। टिमका लागि कमल राईले नटआउट रहँदै उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले। उनले ५० रन जोडे।
त्यस्तै एन्जल राईले ३३ र दिपेश भण्डारीले १६ रनको योगदान दिए। बलिङतर्फ टिम सेल्फीका लागि आस्विन महत र बुद्ध आलेले समान २/२ विकेट लिए भने सुदीप चौधरी र सुधीर बस्नेतले १/१ विकेट हात पारे।
फाइनल खेलमा दिपेश भण्डारी 'म्यान अफ द म्याच' घोषित भए। प्रतियोगिताको उत्कृष्ट बलर आश्विन महत (टिम सेल्फी), उत्कृष्ट ब्याटर सोलोमन राई (टिम सेल्फी) प्लेयर अफ द टुर्नामेन्ट एन्जल राई (टिम भुल्के) र राइजिङ प्लेयर उत्सव राई (टिम भुल्के) घोषित भए।