रियलसँग अंक घटाउँदै बार्सिलोना
-1762738260104.webp&w=3840&q=75)
काठमाडौं। रबर्ट लेवान्डोव्स्कीको ह्याट्रिकसँगै बार्सिलोनाले रियल मड्रिडसँगको अंक दूरी घटाएको छ। उनले आइतबार स्पेनी लिगमा सेल्टा भिगोविरुद्ध ४–२ को शानदार जित दिलाए।
रियल मड्रिड र रायो भालेकानोबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो। लिभरपुलसँगको च्याम्पियन्स लिग हारपछि मड्रिडको यो लगातार दोस्रो खेलमा कमजोर नतिजा हो।
यस अवसरमा लेवान्डोव्स्की र युवा स्टार लामिन यमलको उत्कृष्ट प्रदर्शनले बार्सिलोनालाई जित दिलाउँदै शीर्ष स्थानमा रहेको मड्रिडभन्दा तीन अंक मात्र पछाडि पुर्याए।
शनिबार एस्पानियोलमाथि २–० को जित निकालेको भिल्लारियल लगातार तेस्रो जितपछि मड्रिडभन्दा पाँच अंकले पछि परेर तेस्रो स्थानमा रह्यो। एट्लेटिको मड्रिड पनि लेभान्टेलाई ३–१ ले पराजित गर्दै चौथो स्थानमा उक्लियो। योसँगै शीर्ष स्थानको मड्रिडसँगको दूरी ६ अंकमा झार्न सफल भएको छ।
बार्सिलोनाको रक्षात्मक कमजोरी अझै देखिन्छ। टोलीले पछिल्ला ८ खेलमा १६ गोल खाएको छ र सेप्टेम्बरयता कुनै पनि खेलमा ‘क्लिन सिट’ राख्न सकेको छैन। तर, आक्रमण पक्षको प्रभावकारी प्रदर्शनका कारण टोलीले बाहिरी मैदानमा पनि महत्त्वपूर्ण जित हात पार्यो।
‘हामीले केही गल्ती गर्यौं, तर दोस्रो हाफमा बल र खेलमा नियन्त्रण राम्रो भयो। रक्षापंक्ति पनि सुधारियो,’ बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले भने।
भिगोमा पहिलो हाफ निकै रोमाञ्चक रह्यो। लेवान्डोव्स्कीका दुई गोलपछि दुईपटक सेल्टाले बराबरी गरेको थियो। तर, पहिलो हाफको अतिरिक्त समयमा यमलले बार्सिलोनालाई पुनः अग्रता दिलाए। ७३औं मिनेटमा लेवान्डोव्स्कीले आफ्नो तेस्रो गोल गर्दै जित पक्का गरे।
चोटका कारण केही खेल गुमाएका लेवान्डोव्स्कीले सेप्टेम्बरमा रियल सोसिडाडविरुद्धको जितयता पहिलो पटक गोल गरेका हुन्। ‘अन्त्यमा हामी निकै खुसी छौं, किनभने यो खेल जित्नु सजिलो थिएन,’ लेवान्डोव्स्कीले भने,‘यहाँ खेल्नु सधैं चुनौतीपूर्ण हुन्छ।’
सेल्टाका लागि सर्जियो करेर्रा र बोरजा इग्लेसियसले गोल गरे। बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डे योंग दोस्रो हाफको अतिरिक्त समयमा दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिनु परेको थियो।







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)



