मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

काठमाडौं। अफ्रिका कप अफ नेसन्स (एएफकन) छनोट खेलमा इस्वाटिनीविरुद्ध जित हासिल गरेपछि एरिट्रियाका सात फुटबल खेलाडी बेपत्ता भएका छन्।
टोलीका प्रशिक्षक हेशाम याकान र विदेशमा रहेका एरिट्रियालीको पक्षमा काम गर्ने एक अभियन्ताले यसबारे जानकारी दिएका हुन्।
एरिट्रियाले सन् २००८ पछि पहिलो पटक यस वर्ष एएफकन छनोटमा सहभागिता जनाएको थियो। यसअघि सन् २०१९ मा यु–२० टोलीका केही खेलाडी युगान्डा भागेपछि सरकारले राष्ट्रिय टोलीलाई विदेश यात्रा गर्न रोक लगाएको थियो।
‘हराएका खेलाडीहरूमध्ये अधिकांश वैकल्पिक हुन्,’ याकानले भने। उनका अनुसार ३१ मार्चमा भएको दोस्रो लेगपछि ती खेलाडी सम्पर्कविहीन भएका हुन्। उनीहरू धनी देशमा आर्थिक अवसर खोज्न गएको हुन सक्ने आशंका व्यक्त गरिएको छ।
‘मलाई लाग्दैन उनीहरूले फुटबल खेलिरहन्छन्,’ सन् १९९० को विश्वकपमा खेलेका इजिप्टका पूर्वडिफेन्डर याकानले भने।
एरिट्रियाले पहिलो लेगमा मोरोक्कोमा २–० ले जितेको थियो। घरेलु मैदान अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नहुँदा खेल त्यहाँ सारिएको थियो। दोस्रो लेगमा इस्वाटिनीको सोम्होलो राष्ट्रिय रंगशालामा २–१ को जित निकाल्दै एरिट्रियाले समग्रमा ४–१ को नतिजा हासिल गर्यो।
विदेशमा बस्ने एरिट्रियालीका लागि काम गर्ने अभियन्ता जर्ज घेब्रेस्लास्सीले पनि खेलाडीहरू भागेको पुष्टि गरे। ‘यस्तो घटना धेरै हुन्छ,’ उनले भने,‘यसले एरिट्रियाको अवस्था कस्तो छ भन्ने देखाउँछ। मानिसहरू आफ्नो देशमै निराश भइसकेका छन्।’
एरिट्रियाका सूचनामन्त्री येमाने गेब्रेमेस्केलले यसबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। राष्ट्रिय फुटबल महासंघले पनि कुनै जवाफ दिएको छैन। टोली नजिकका एक स्रोतका अनुसार यी खेलाडी निकै गरिब छन्। ‘उनीहरूको यो पहिलो हवाई यात्रा थियो। उनीहरू राम्रो आम्दानी र कामको खोजीमा गएका हुन्,’ ती व्यक्तिले भने।
सन् १९९३ मा स्वतन्त्रता पाएदेखि नै एरिट्रियामा राष्ट्रपति इसायस अफवेर्की सत्तामा छन्। मानवअधिकार संस्थाहरूले उनको सरकारलाई बारम्बार दमनकारी भनेर आलोचना गर्दै आएका छन्।
आगामी सन् २०२७ को अफ्रिका कप अफ नेसन्स केन्या, तान्जानिया र युगान्डाले संयुक्त रूपमा आयोजना गर्नेछन्।











