खेल जीवनका ८ वर्ष जयरानीका लागि उतारचढावपूर्ण रहे । यो ८ वर्षमा उनको सबैभन्दा सफलता के हो त ?
उनी नम्बरलाई मात्र सफलतासँग जोडेर हेर्दिनन् । नम्बरले जयरानीलाई ’च्याम्पियन जयरानी’ भनेर चिनाएको छ ।
यो परिचयलाई उनी केवल आफ्नो जीवनको एक भाग मान्छिन् भने आफूले बाँचिरहेको समयलाई बास्तविक जीवन ।
’एउटा खेलाडीलाई नाम, दाम लोकप्रियता सबै चाहिन्छ । यो राम्रै कुरा भयो नि हैन र रु’ यो प्रश्नमा जयरानीको उत्तर फरक छ ।
’चम्किलो स्वर्ण पदक भिरेर जगमगाइरहेकी जयरानी भन्दा ट्रयाकमा पसिना बगाउदै दौडिरहेकी जयरानी वास्तविक जयरानी हुन् । मानिसहरुले स्वर्ण जितेर गर्वका साथ उभिरहेकी जयरानीलाई निश्चित समयसम्म मात्रै देख्छन् तर मैले त्यो संघर्षशील जयरानीको हरेक दिन सामना गरेकी छु । जसले मलाई मेरो धरातल कहिल्यै बिर्सन दिदैन ।’ जयरानी सालिन हुन्छिन् ।
बर्दिया जिल्ला मधुबन नगरपालिका २ सुन्दरपुरको एक बिपन्न परिवारमा जन्मिएकी जयरानी थारु अब २२ बर्ष लाग्दैछिन् । विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट एथलेटिक्समा उनी अहिले नवौ राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गरिरहेकी छिन् । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदमा जयरानी थारुले चार स्वर्ण पदक जितेकी छन् । जसमध्य तीन वटा त राष्ट्रिय कीर्तिमान सहित ।
जयरानीले ४ सय मिटर हर्डल्स, सय मिटर हर्डल्स, लङजम्प र सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् ।
ट्रयाक एण्ड फिल्डमा अहिले कोहि खेलाडी पनि उनको वरिपरी आउन सकेका छैनन् । यस्तो लाग्छ उनीसँग जितको सुत्र छ । नवौ राष्ट्रिय खेलकुदमा जयरानीले स्वर्ण हासिल गरेको देख्दा लाग्थ्यो जित अब उनको बानि भैसक्यो ।
खेलप्रतिको उनको रुची बच्चा बेला देखिकै हो । उनको बिद्यालय माध्यमिक विद्यालयमा चढिसकेपछि उनले राष्ट्रपति रनिंग शिल्डमा भाग लिन थालिन् । रनिंग शिल्डमा देखिएको प्रदर्शनले उनमा सम्भावना रहेको बुझ्दै उनको प्रतिभालाई थप निखार्न जनज्योति बोर्डिंगले आफ्नै होस्टेलमा राख्दै उनलाई अभ्यास गर्ने र पढ्ने वातावरण मिलायो । प्रशिक्षक विश्वराज चौधरी र सुमित्रा चौधरीले रनिंग शिल्डमा उनीबाट प्रभावित भएर यो व्यवस्था मिलाएका थिए ।
उनलाई दौडिन मन पर्दथ्यो । बिद्यालयस्तरमै दौड प्रतियोगिताबाट उनलाई पनि आफुसँग क्षमता छ भन्ने लागिसकेको थियो । अनि उनले एथलेटिक्स रोज्ने निर्णय गरिन् । ’व्यक्तिगत खेल भएकाले यदि धेरै मेहनत गरे भने फल पाउछु भन्ने थियो, त्यहि विश्वासले मैले एथलेटिक्स रोजे ।’ जयरानी आफुले एथलेटिक्स रोज्नुको कारणबारे भन्छिन् ।
नवौं राष्ट्रपति रनिंग शिल्डमा उनले आफ्नो खेल जीवनकै पनि पदक जितिन् । त्यसले उनमा अब म खेल्छु र पदक पनि जित्छु भन्ने धारणा आइसकेको थियो । २०७२ सालबाट उनले आफ्नो खेलजीवन सुरु गरिन् । उनले राष्ट्रिय स्तरमा पहिलोपटक मौका पाएको प्रतियोगिता सातौँ राष्ट्रिय खेलकुद रह्यो ।
जिल्ला छनोटमा राम्रो नतिजा निकाल्दै सबैको विश्वास जितेर तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट खेलेकी थिइन् । तर रिलेमा मात्र प्रतिस्पर्धा गर्न पाईन् । उनी सम्मिलित टोलीले १ सय मिटर रिलेमा रजत पदक जितेका थियो ।
२०७५ मा आठौ राष्ट्रिय खेलकुदमा उनको प्रदर्शन सोचे अनुरुप गएन । लुम्बिनी प्रदेशलाई उनीबाट स्वर्णको अपेक्षा थियो । अभ्यासको कमीका कारण उनले स्वर्ण त जित्न सकिनन् तर १ सय मिटर हर्डल्समा रजत र लङजम्पमा कास्य पदक जितिन । रिलेमा २ रजत जितिन् ।
सानै उमेरकी जयरानीले सबैको ध्यान भने आफुतिर तानिन् । उनमा बिशेष प्रतिभा थियो । अब आर्मी उनको पछि थियो ।
आर्मी जसरी भएपनि जयरानीलाई भित्र्याउन चाहन्थ्यो । जयरानी पनि आर्मीमा जना इच्छुक थिइन् । किनकी त्यो समयमा उनलाई आर्थिक समस्याले संधै पिरोल्थ्यो । उनी बिश्वस्त थिइन्, आफ्नो खेललाई जारी राख्न आर्मीमा जानुको विकल्प छैन । थप हौसला गुरुबाट आउथ्यो । आर्मीले उनलाई राम्रो सेवा सुविधामा खेल्न दिनसक्थ्यो । जागिरे भएपछि घरको आर्थिक समस्यामा पनि सुधार आउने हुँदा जयरानी आर्मीप्रति सकारात्मक थिइन् ।
अन्ततः २०७६ साउन १५ गते आर्मीको खेलकुद कोटामा जयरानी थारु नेपाल आर्मीमा गईन् । त्यसपछि तालिम लिएर पूर्ण नेपाली सेना बनिन् । त्यसपछि उनले पछाडी फर्केर हेर्नु परेन । अभावमा पनि चम्किएकी जयरानीको उडानलाई आर्मीको नियमित अभ्यास, राम्रो सेवा सुविधाले नयाँ उचाई दियो ।
उनी अहिले नेपालको च्याम्पियन हुन् । तर अन्तराष्ट्रिय मञ्चमा भने उनी आफ्नो क्षमता देखाउन पर्खिरहेकी छिन् । २०७३ सालमा दोस्रो जुनियर एसियन खेलकुद, थाइल्यान्डमा उनले पहिलो अन्तराष्ट्रिय खेल खेलिन् । त्यसपछि श्रीलंकामा पनि जुनियरनै खेलिन् तर नतिजा राम्रो आएन ।
’त्योबेला मा प्रदेशकै टिमबाट खेल्थे । नियमित अभ्यास थिएन । त्यसले तयारी पनि नपुग्ने हुँदा खासै राम्रो गर्न सकिन ।’ उनी भन्छिन् । १३ औं सागको बेलामा पनि आर्मीको तालिमले गर्दा उनले साग गुमाइन् । तर उनी आशावादी छिन् । पहिलेको र अहिलेको जयरानीमा धेरै भिन्नता छ । उर्जा त्यही छ तर अनुभव जोडिएको छ । अहिले उनी आफुलाई पूर्ण तयार रहेको मान्छिन् ।
उनी आफ्नो खेलजीवनमा आएको यो परिवर्तनको लागि आर्मीलाई सम्पूर्ण श्रेय दिन्छिन् । प्रादेशिक टोलीमा भन्दा आर्मीमा सबैकुरा उपलब्ध हुन्छ । त्यसले गर्दा उनलाई खेलिरहने वातावरण सिर्जना भयो । आर्मीले नै गर्दा उनी यो स्थानसम्म आएकी छन् । अहिले उनी घर जाँदा सम्पूर्ण गाउँ उनको सम्मानमा उनको घरमा उपस्थित हुने गरेको छ । सबैले माया गर्छन् । यही त हो सफलताको खुसी । सबैलाई यस्तै खुसी बनाइराख्ने उनको चाहना छ । यो सबै आर्मी बिना सम्भव थिएन ।
जुनियर खेलकुदमा थाइल्याण्ड जाँदा उनका बुवाले ऋण सापटी खोजेर उनको पासपोर्ट बनाउँदाको दृश्य अहिलेपनि उनको आँखामा झल्झली आउने गर्छ । त्यो यस्तो समय थियो, जब जयरानीले अब खेल खेल्दिन्, यो सबै छोडिदिन्छु भनेर पनि सोचेकी थिइन् ।
भविष्य के हुने हो टुंगो थिएन, तर उनका बुवाले पासपोर्ट बनाउन भोगेको दुखले उनलाई मानसिक रुपमै विक्षिप्त परेको थियो । पछि गुरु विश्वराज चौधरीले नै उनलाई सम्झाए । र आर्मीमा जागिर खाने योजना बन्यो ।
एउटा त्यो पनि समय थियो, जब भावुक बनेर जयरानी एक्लै रुन्थिन । एउटा यो पनि समय छ, जव स्वर्ण पदकमा घामको किरण ठोक्किदा निस्किने चमक पनि जयरानीको अघि फिक्का लाग्छ । अहिले उनलाई ट्रयाक एण्ड फिल्डकी रानी मान्न थालिएको छ ।
जयरानी नेपाली एथलेटिक्सको विकास हुनको लागि यसमा लागेका खेलाडी, प्रशिक्षक सबैजना खुसी हुनुपर्ने बताउछिन् । जबसम्म खेलाडी खुसी भएर खेल्दैन, नतिजा आउन मुस्किल नै हुन्छ । पहिलेको तुलनामा केहि राम्रो भैरहेको भएपनि अझै हुनुपर्ने जति बिकाश नभएको उनको ठम्याई छ । एथलेटिक्समा लाग्दा जयरानीले आफ्नो पढाइ निरन्तर राख्न सकिनन् । अबको उनको लक्ष्य ओलम्पियन बन्नु र एसियन खेलमा पदक जित्नु हो । त्यसका लागि एउटी सुत्र उनले लागु गर्ने बताउँछिन्, मेहनत ।
त्यही सुत्रले अहिले उनलाई जयरानी बनाएको छ ।