काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आइसीसी विश्वकप एकदिवसीय छनोटको अन्तिम तयारी गर्न दक्षिण अफ्रीका जाने भएका छन् ।
बलात्कार आरोपको कारण सर्वोच्च अदालतमा पेशी रहेकोले उनी गत मंगलबार टोलीका अन्य सदस्यसँग दक्षिण अफ्रीका गएका थिएनन् ।
तर, सन्दीपको पेशी असार २९ सम्मलाई सरेपछि उनी सोमबार दक्षिण अफ्रिका जाने भएका छन् ।
क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सोमबार दक्षिण अफ्रिका पठाउने तयारी गरेको बताएका छन् ।
'सन्दीपलाई दक्षिण अफ्रिका पठाउने अन्तिम तयारी भईरहेको छ । उनको टिकटको व्यवस्थापन गर्दैछौं । सोमबार बेलुकासम्मको टिकट जुटाउने प्रयासमा हामी छौं ,' पाठकले खेलपाटीसँग भने 'सन्दीप मुद्धाको पेशीका कारण यस अघि जान पाएका थिएनन् । पेशी अब असार २९ सम्मलाई सरेकोले उनको जाने बाटो खुलेको हो ।'
विश्वकप छनोटको अन्तिम तयारीमा नेपाली क्रिकेट टोली दक्षिण अफ्रीकामा रहेको छ । दक्षिण अफ्रीकामा नेपाली टोलीले दुई अभ्यास खेल खेल्ने तालिका रहेको छ ।
नेपालले जेठ २५ मा स्कटल्यान्डसँग र जेठ २७ मा नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाल जिम्बावे जानेछ ।
जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले जेठ ३० मा युएई र जेठ ३२ मा ओमानसँग वार्मअप खेल खेल्नेछ । प्रतियोगिता १८ जुन देखि ९ जुलाई सम्म हुनेछ ।
विश्वकप छनोटमा नेपाल समूह ए मा रहेको छ । यस समूहमा नेपालसँगै वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन्।
समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । नेपालले १८ जुन अर्थात असार ३ मा जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।