काठमाडौं। ब्राजिलियन क्लब फ्लामेङ्गोले दोस्रो हाफमा तीन गोल गर्दै क्लब विश्वकपमा चेल्सीलाई ३–१ ले हराउँदै समूहको शीर्ष स्थानमा पुगेको छ।
यसअघि लस एन्जलस एफसीलाई १–० ले पराजित गरेको फ्लामेङ्गो नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। क्लब विश्वकपमा अहिलेसम्म दक्षिण अमेरिकी टोली ९ खेलमा अपराजित छन्।
खेलको सुरुआतमा चेल्सीले अग्रता लिएको थियो। १३औं मिनेटमा फ्लामेङ्गोका डिफेन्डरबाट बल बाउन्स भएर चेल्सीका पेड्रो नेटोको कब्जामा पुग्यो। उनले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए।
तर, ६२औं मिनेटमा ब्रुनो हेन्रिकेले नजिकबाट गरेको ट्याप–इन गोलमार्फत फ्लामेङ्गोले बराबरी गोल फर्कायो। त्यसको केही मिनेटपछि डानिलोले कर्नर किकबाट गोल गर्दै फ्लामेङ्गोलाई अग्रता दिलाए।
८३औं मिनेटमा वालास यानले तेस्रो गोल गर्दै जित पक्का गरे। चेल्सी अहिले समूह ‘डी’ मा फ्लामेङ्गोभन्दा तल छ। तर, अझै नकआउट चरणमा पुग्ने सम्भावना जीवित छ। समूह चरणको अन्तिम खेल मंगलबार हुनेछ। चेल्सीले फिलाडेल्फियामा एस्पेरेन्ससँग र फ्लामेङ्गोले फ्लोरिडाको ओरलान्डोमा एलएएफसीसँग खेल्नेछ।