काठमाडौं। बोटाफोगोले क्लब विश्वकपको दोस्रो खेलमा च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट-जर्मेन (पिएसजी)लाई १–० ले स्तब्ध पारेको छ।
इगोर जिससले पहिलो हाफको अन्त्यतिर निर्णायक गोल गरे। दक्षिण अमेरिकी च्याम्पियन बोटाफोगोले दोस्रो हाफमा त्यो अग्रतालाई जोगाउँदै समूहमा लगातार दोस्रो जित दर्ता गरेको हो। दुई खेलमा दुई जित हात पार्दै बोटाफोगो समूहको शीर्ष स्थानमा पुगेको छ।
पिएसजी मे ३ यताका सबै प्रतियोगितामा अपराजित रहँदै आएको थियो। तर, पासाडेनास्थित रोस बाउलमा ५३ हजार ६९९ दर्शकमाझ भएको यो खेलमा खेलाडी थकित देखिए। जिससको ३६औं मिनेटमा गरिएको उत्कृष्ट गोल पिएसजीले मे १७ पछि खाएको पहिलो थियो।
गत आइतबार एट्लेटिको मड्रिडलाई ४–० ले हराएको पिएसजीले पछिल्ला तीन विपक्षीविरुद्ध संयुक्त १२ गोल गर्दै फ्रेन्च कप र च्याम्पियन्स लिग जितेको थियो।