काठमाडौं। ब्याटिङ र बलिङ दुवैमा फ्लप हुँदा स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजनको अन्तिम खेलमा नेपालले ३४ रनको फराकिलो हार बेहोरेको छ।
स्कटल्यान्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १५९ रन बनाएको हो। योसँगै नेपालले मध्यम प्रदर्शन गर्दै सिरिज सक्काएको छ। घरेलु टोली र नेदरल्यान्ड्सविरुद्ध समान १ खेलमा जित हात पार्दा समान १ खेलमा हार बेहोर्नुपर्यो।
अर्कोतर्फ भने सिरिजमा सहभागी ३ वटै टोलीले समान २ जित हात पारे। नेपाललाई भने यो आँकडा फराकिलो बनाउने मौका थियो। तर, नेपालको ब्याटिङ अर्डर पुरानै लयमा फर्कियो।
रुपेश सिंहले सर्वाधिक ४३ रन बनाए। २२ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले ३३ बलमा समान १ चौका र छक्कासहित ३४ रन बनाए।
कप्तान रोहितकुमार पौडेल २७, आसिफ शेख १४ र भीम सार्की १२ रनमा आउट भए। बलिङमा स्कटल्यान्डका क्रिस ग्रिभ्सले सर्वाधिक ३ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले २७ रन खर्चिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रनको योगफल तयार गरेको थियो।
स्कटल्यान्डका ओपनर जर्ज मुन्सेले सर्वाधिक ७८ रन बनाए। ३९ बल खेलेका उनले ५ चौका र ६ छक्का प्रहार गरे। उनले ब्रान्डन म्याकमुलनसँग दोस्रो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए। उक्त साझेदारी कुशल भुर्तेलले १२.४ ओभरमा तोडे।
ब्रान्डले भने ३० बलमा ४ चौका र १ छक्कासहित ४२ रन बनाए। माइकल लीस्क २६ र म्याथ्यु क्रोस १७ रनमा अविजित रहँदा अन्य ब्याटरले राम्रो प्रदर्शन देखाउन सकेनन्।
नेपालका कुशलले सर्वाधिक २ विकेट लिए। २ ओभर बलिङ गरेका उनले २० रन खर्चिए। रुपेश सिंह, ललितनारायण राजवंशी र सन्दीप लामिछानेको नाममा समान १ विकेट रह्यो।