काठमाडौं। नेपालका शीर्ष डिभिजनका क्लब एएफसी च्यालेन्ज लिगबाट बञ्चित भएका छन्।
एसियाली फुटबल महासंघ (एएफसी)को क्लब इजाजतपत्र इकाईको निर्णय गर्ने निकाय फर्स्ट इन्स्टेन्स बडी (एफआईबी)ले लाइसेन्स नदिएसँगै नेपालका क्लब लिगबाट बञ्चित भएका हुन्।
एएफसी क्लब लाइसेन्सिङ प्रकिया पूरा गरेको क्लबहरुलाई मात्रै एफआईबीले लाइसेन्स दिने गर्छ। यो लाइसेन्स पाउने क्लबले मात्रै च्यालेन्ज लिग खेल्न पाउने प्रावधान छ।
क्लब फुटबलको न्यूनतम मापदण्डमा शीर्ष डिभिजनको लिग, क्लबको आफ्नै खेल मैदान, प्रशिक्षण मैदान र एकेडेमी हुनैपर्छ।
तर, नेपालका अधिकांश क्लबले यस मापदण्ड पूरा गर्न सकेका छैनन्। त्यसैले अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदानलाई देखाउँदै क्लब लाइसेन्सका लागि सिफारिस गर्दै आएको थियो।
तर, यसपल्ट भने त्यो जुक्ति काम लाग्न सकेन र ‘ए’ डिभिजनका क्लब लाइसेन्सविहीन हुनुपर्यो।
एफआईबीले २०२४/२०२५ का लागि चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी क्लबलाई लाइसेन्स दिएको थियो। सोही अनुसार लिगको प्रारम्भिक छनोटमा चर्च ब्वाइजले भुटानको पारो एफसीसँग खेल्ने मौका पाएको थियो। तर, चर्च ब्वाइज २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
२०२३/२०२४ मा पनि दुई विभागीय टोली आर्मी र एपीएफसँगै मछिन्द्र फुटबल क्लबले मात्रै क्लब लाइसेन्स पाएका थिए। त्यसको अघिल्लो वर्ष पनि यी तीन क्लबले मात्र लाइसेन्स पाएका थिए।