काठमाडौं। एन्जल डि मारिया र लियान्द्रो बारेरोले समान दुई गोल गरेसँगै बेन्फिकाले क्लब विश्वकपअन्तर्गत शनिबारको खेलमा अकल्यान्ड सिटीलाई ६–० ले पराजित गरेको छ।
पहिलो हाफपछि चट्याङ र गर्जनका कारण दुई घण्टाभन्दा बढी समय खेल अवरुद्ध भएको थियो।
२०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताउन लिओनल मेसीसँगै खेलेका डि मारियाले पहिलो गोल पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गरे। दोस्रो गोल पनि खेलको अन्तिम इन्जुरी समयमा पेनाल्टीबाटै गरे। यो टोलीका लागि छैटौं गोल बन्यो।
‘सबै कुरा निकै राम्रो रह्यो। हामी यहाँ खेलेर खुसी छौं,’ बेन्फिका प्रशिक्षक ब्रुनो लाजेले भने। पहिलो हाफमा अकल्यान्डले केही काउन्टर अट्याक गरे पनि पोर्चुगलको पावरहाउस टोली बेन्फिकासँग बराबरी गर्न सकेन।
दोस्रो हाफ बेन्फिकाको पूर्ण नियन्त्रणमा रह्यो। भान्गेलिस पाभ्लिडिसले ५३औं मिनेटमा दोस्रो गोल गरे। त्यसपछि रेनाटो सान्चेजले अर्को गोल थपे र लियान्द्रो बारेरोले दुई गोल गर्दै स्कोर ५–० बनाए। अन्ततः डि मारियाले दोस्रो पेनाल्टीमार्फत छैटौं गोल थपे।
यो जितसँगै बेन्फिकाको समूह ‘सी’ मा ४ अंक पुगेको छ। अघिल्लो खेलमा अकल्यान्ड सिटीलाई १०–० ले हराएको बायर्न म्युनिख शनिबार नै मियामी गार्डेन्समा बोकाजुनियर्ससँग खेल्दैछ।