काठमाडौं। ह्यारी केनले दोस्रो हाफमा गरेको गोलमार्फत इङ्ग्ल्याडले २०२६ फिफा विश्वकप छनोटमा एन्डोरामाथि १–० को जित निकालेको छ। थोमस टुचेलको प्रशिक्षणमा इङ्ग्ल्याडको यो लगातार तेस्रो जित हो।
बार्सिलोनास्थित एस्पान्योलको स्टेडियममा भएको खेलमा विश्व वरीयतामा १७३औं स्थानमा रहेको एन्डोराविरुद्ध पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको इङ्ग्ल्याडले ५०औं मिनेटमा केनको गोलबाट अग्रता लिएको हो।
नोनी माडुएकेको पासलाई केनले पहिलो प्रहारमा असफल प्रयास गरेका थिए। तर, ‘रिबाउन्ड’मा पुनः बललाई जाली चुमाए। ‘हामीले अझ राम्रो खेल्नुपर्ने थियो। यो खेल धेरैले सम्झने छैन होला, तर तीन अंक लिएर अघि बढ्छौँ,’ केनले भने। योसँगै उनले राष्ट्रिय टोलीबाट ७२औं गोल पुर्याएका छन्।
टुचेलको टोली युरोपको ग्रुप केमा *९ अंकसहित शीर्ष स्थानमा छ। अल्बानिया र लाट्भियामाथि पनि जित निकालेको इङ्ग्ल्याडले टुचेलको प्रशिक्षणमा अहिलेसम्म गोल खाएको छैन।
यद्यपि, टुचेल भने एन्डोराविरुद्धको यस्तो कठिन जितमा सन्तुष्ट देखिएनन्। उनले भने, ‘खेलको अन्त्यमा हामीले ध्यान गुमायौं। जुन स्वीकार्य होइन।’
८० हजार जनसंख्या भएको एन्डोराले पाँचजनाको रक्षा पङ्क्तिबाट इङ्ग्ल्याडका स्टारलाई धेरै भागमा रोक्न सफल रह्यो। अन्त्यमा एन्डोराका गिलाउमे लोपेजको प्रहारलाई एझ्री कन्साले रोक्दा बराबरीको सम्भावना टर्यो।
इङ्ग्ल्याडले यसअघिका ६ खेलमा एन्डोरामाथि २५ गोल वर्षाएको थियो। एन्डोरा प्रशिक्षक कोल्डो आल्भारेजले भने, ‘मेरो टिमले जुन प्रयास गर्यो, त्यसमा म धेरै गर्व गर्छु।’