काठमाडौं। पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनका १७ वर्षीय युवा स्टार लामिन यमलको खुलेर प्रशंसा गरेका छन्।
यमल र रोनाल्डोका राष्ट्रिय टोली जुन ९ मा हुने युइएफए नेसन्स लिगको फाइनलमा आमनेसामने हुँदैछन्। स्पेनका यमलले फ्रान्सविरुद्धको रोमाञ्चक ५–४ को सेमिफाइनल जितमा दुई गोल गरेका थिए।
उनको यो उत्कृष्ट प्रदर्शनबारे पत्रकार सम्मेलनमा रोनाल्डोलाई सोधिएको थियो। रोनाल्डोले अद्भुत प्रतिभाको प्रशंसा गर्दै समर्थक र मिडियालाई उनलाई बढी दबाब नदिन आग्रह गरे। उनले भने, बच्चालाई हुर्कन देऊ !
रोनाल्डो भन्छन्,‘यमलले अहिले निकै राम्रो गरिरहेको छ। उसले आफ्नो प्रतिभालाई राम्रोसँग उपयोग गरिरहेको छ। उसलाई हुर्कन देऊ। तर, उनीमाथि धेरै दबाब नदिउँ। उसलाई सहज रूपमा हुर्कन दिनुपर्छ। उसमा कुनै कमी छैन।’
आगामी फाइनलले धेरैको ध्यान तानिरहेको छ। यस खेललाई एक महान् खेलाडी रोनाल्डो र भविष्यका सम्भावित सुपरस्टार यमलबीचको प्रतिष्ठाको लडाइँको रूपमा हेरिएको छ।
रोनाल्डोले जर्मनीविरुद्धको सेमिफाइनल जितमा आफ्नो ९३७औं गोल गरेर इतिहास रचिरहेका छन्। उता यमल २०२४–२५ को बालोन डि’ओरका लागि बलियो दाबेदारका रूपमा उदाएका छन्।
यो सिजन स्पेनलाई नेसन्स लिगको उपाधि पनि दिलाउन सके उनी इतिहासकै सबैभन्दा कान्छा बालोन डि’ओर विजेता बन्न सक्छन्। उनले यसअघि नै स्पेनलाई युरो २०२४ जिताइसकेका छन्। बालोन डि’ओर जिते उनले रोल्डो नाजारियोको २१ वर्षको कीर्तिमान पनि भंग गर्नेछन्।
रोनाल्डो भने दोस्रोपल्ट नेसन्स लिगको उपाधि जित्ने लक्ष्यमा हुनेछन्। उनले यो सिजन उपाधिविहीन रहँदै साउदी प्रो लिग सक्काएका थिए। यमलका लागि भने यो ऐतिहासिक वर्षको अर्को स्मरणीय क्षण बन्नेछ।