काठमाडौं। भेनेजुएलाले बोलिभियालाई २–० ले पराजित गर्दै दक्षिण अमेरिकी विश्वकप छनोटमा सातौं स्थानमा आफ्नो पकड अझ बलियो बनाएको छ। यो स्थानले आगामी वर्ष उत्तर अमेरिकामा हुने विश्वकपका लागि इन्टरकन्टिनेन्टल प्लेअफ खेल्ने मौका दिन्छ।
खेलको पाँचौं मिनेटमै बोलिभियन खेलाडी हेक्तर कुएलरले आत्मघाती गोल गरे। उनले गोलकिपर गुइलेरमो भिस्कार्रालाई फर्काएको सामान्य पास जालीमा पुग्यो। घरेलु टोलीका लागि दोस्रो गोल ३०औं मिनेटमा सलोमोन रोन्डोनले गरे।
नाहुएल फेरारेसीको क्रसलाई छातीले नियन्त्रण गरी उनले बायाँ खुट्टाले गोल गरे। रोन्डोन भेनेजुएलाका सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्। उनको यो ४७औं अन्तर्राष्ट्रिय गोल हो।
मातुरिन सहरको मोनुमेन्टल स्टेडियममा भएको खेलमा बोलिभियाले गोलकिपर राफाएल रोमोलाई ठूलो चुनौती दिन सकेन। तीन चरणका खेल मात्र बाँकी रहँदा बोलिभिया भेनेजुएलाभन्दा चार अंकले पछि परेको छ।
अर्को खेलमा कोलम्बियाले घरेलु मैदानमा पेरूसँग गोलरहित बराबरी खेल्दा ब्राजिललाई अंक तालिकामा उछिन्न असफल रह्यो। यो कोलम्बियाको लगातार पाँचौं जितविहीन खेल हो।
ब्यारान्क्विलाको मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा घरेलु टोलीले निलम्बित फरवार्ड लुइस डियाजको अनुपस्थिति महसुस गर्यो। उनले छनोट चरणमा ६ गोल गरेका थिए। जोन कोर्डोबा र राफाएल सान्तोस बोर्रे पनि चोटका कारण बाहिर थिए।
विश्वकप विजेता अर्जेन्टिनाले मार्चमै २०२६ को टिकट पक्का गरिसकेको छ। अर्जेन्टिना १५ खेलपछि ३४ अंकसहित शीर्ष स्थानमा छ। इक्वेडोर र पराग्वेको २४–२४ अंक छ। इक्वेडोर गोलअन्तरका आधारमा अगाडि छ। ब्राजिल २२ अंकसहित चौथो स्थानमा छ।
उरुग्वे र कोलम्बिया २१–२१ अंकसहित पाँचौं र छैटौं स्थानमा छन्। भेनेजुएलाको १८ अंक छ। भेनेजुएला अहिलेसम्म विश्वकप खेल्न नसकेको दक्षिण अमेरिकाको एकमात्र टोली हो।
बोलिभियाको १४ अंक छ र सातौं स्थानमा पुग्ने सम्भावना बाँकी छ। पेरू र चिली क्रमश: ११ र १० अंकमा छन्।