काठमाडौं। डेभिड एन्सेलोटीले आफ्नो बुवा कार्लोसँगै पाँच पटकको विश्वकप विजेता ब्राजिल टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन्।
ब्राजिलको फुटबल महासंघले शुक्रबार डेभिडलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको घोषणा गरेको हो। उनले सन् २०१५ मा सहायक प्रशिक्षकको रूपमा आफ्नो करिअर सुरु गरेका थिए। त्यसपछि उनी आफ्ना बुवासँगै नापोली, एभर्टन, बायर्न म्युनिख र रियल मड्रिड क्लबमा काम गरेका थिए।
कार्लोले ब्राजिलको प्रशिक्षकका रूपमा पहिलो खेल इक्वेडरसँग खेलेका थिए, जुन गोलरहित बराबरीमा सकिएको थियो। यो नतिजाले ब्राजिललाई दक्षिण अमेरिकी विश्वकप छनोटको अंक तालिकामा चौथो स्थानमै कायम राखेको छ।
डेभिड आउँदो मंगलबार ब्राजिलले तेस्रो स्थानको पाराग्वेविरुद्ध खेल्दा टोलीको बेन्चमा रहने अपेक्षा गरिएको छ। उनले आफ्नो खेल जीवन एसी मिलानको युथ टिम हुँदै सुरु गरेका थिए।
पछि बोर्गोमानेरोका लागि खेले। तर, उनले २० वर्षकै उमेरमा खेल जीवनलाई टुंग्याएर व्यवस्थापन क्षेत्रमा लाग्ने निर्णय गरे। उनले खेल विज्ञानमा डिग्री हासिल गरेका छन्।
डेभिडले आफ्नो प्रशिक्षण करियर सन् २०१२ मा पेरिस सेन्ट-जर्मेन (पिएसजी) मा फिटनेस प्रशिक्षकको रूपमा सुरु गरेका थिए। २०१३ देखि २०१५ सम्म उनी रियलमा पनि सोही भूमिकामा रहे। सन् २०१६ मा बायर्नबाट उनले पहिलो पटक सहायक प्रशिक्षकको रूपमा काम थाले। त्यसपछि आफ्ना बुवाले प्रशिक्षण गरेका अन्य क्लबहरूमा पनि सोही जिम्मेवारी सम्हाले।