काठमाडौं। साउदी क्लब अल–नासरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले संयुक्त राज्य अमेरिकामा हुने क्लब विश्वकप खेल्ने आफ्नो योजना नभएको बताएका छन्।
४० वर्षीय रोनाल्डो आबद्द अल– नासर ३२ टिममा विस्तार गरिएको प्रतियोगितामा सहभागी हुनेछैन। उनले पनि यसअघि नै अल–नासर छाड्ने संकेत गरिसकेका छन्।
रोनाल्डोले आफ्नो टोलीको सिजनको अन्तिम खेलपछि सामाजिक सञ्जालमा लेखेका थिए, ‘यो अध्याय सकियो। कथा? अझै लेखिँदै छ।’ त्यसयता उनको भविष्यबारे अड्कलबाजी चुलिएको थियो।
फुटबलको सर्वोच्च निकाय फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अल–नासर क्लब विश्वकप खेल्न अयोग्य भए पनि रोनाल्डोलाई अन्य ३२ क्लबबाट खेलाउन छलफल भइरहेको बताएका थिए।
अल–नासरका खेलकुद निर्देशक फर्नान्डो हिएरो गत महिनादेखि नै रोनाल्डोसँग नयाँ सम्झौता गर्न वार्ता गरिरहेका छन्। तर, पाँच पटकको बालोन डि’ओर विजेतालाई अनुबन्ध गर्न धेरै क्लबले इच्छा व्यक्त गरिरहेको उनले दाबी गरेका थिए।
उयस महिनाको अन्त्यमा हुने क्लब विश्वकप खेल्न अर्को क्लबमा जाने सम्भावनाबारे उनलाई प्रश्न सोधिएको थियो। उनले भने, ‘यो अप्रासंगिक कुरा हो। अहिले राष्ट्रिय टोलीबाहेक अरू कुरा गर्न कुनै अर्थ छैन। धेरै क्लबहरूबाट प्रस्ताव आएको छ। केही कुरा सान्दर्भिक छन्, केही छैनन्। सबै क्लबमा जान सकिँदैन।
उनले छोटो, मध्यम र दीर्घकालीन सोच राखेर निर्णय लिने बताए। त्यसैले आफ्नोतर्फबाट क्लब विश्वकप नखेल्ने पक्का गरिसकेको उनको भनाइ छ। ‘म क्लब विश्वकपमा जाँदिन भन्ने कुरा मेरो तर्फबाट तय भइसकेको छ। यद्यपि धेरै खेल्न बोलाइरहेका छन्,’ उनले भने।
बुधबार रोनाल्डोले जर्मनीविरुद्ध २–१ को जितमा निर्णायक गोल गरेका थिए। योसँगै पोर्चुगल नेसन्स लिगको फाइनलमा पुगेको छ। पोर्चुगलले अब स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
धेरैले आइतबारको फाइनललाई रोनाल्डो र बार्सिलोनाका १७ वर्षीय युवा स्टार लामिन यमलबीचको भिडन्तका रूपमा चित्रित गरेका छन्। तर, रोनाल्डोले आफू त्यसरी नहेर्ने बताएका छन्।
उनले भने,‘२० वर्षभन्दा बढी भइसक्यो, अझै पनि उही हो। यो सामान्य कुरा हो। हामी फरक पुस्ताका हौं। एउटा सुरु गर्दैछ, अर्को अन्त्यतिर आइपुगेको छ, जुन मेरो अवस्था हो।’
वास्तविकता प्रतिस्पर्धा यमलविरुद्ध भन्दा पनि स्पेनविरुद्ध हुने उनको भनाइ छ। ‘सधैं त्यस्तै हुनेछ। म चाहन्छु पोर्चुगल उच्च स्तरमा खेलोस्, आत्मविश्वासी होस् र राम्रो खेल खेलेर विश्वकै उत्कृष्ट टोलीमध्ये एकलाई हराओस्,’ उनले भने।