काठमाडौं। भारतीय डिफेन्डर विजय छेत्री दक्षिण अमेरिकी क्लबमा अनुबन्ध भएका छन्।
स्थायी रूपमा दक्षिण अमेरिकी क्लबमा अनुबन्ध हुने उनी पहिलो भारतीय खेलाडी बनेका छन्। उनलाई उरुग्वेको क्लब *कोलोन एफसीले अनुबन्ध गरेको हो।
उरुग्वेको राजधानी मोन्टेभिडिओमा रहेको कोलोनले दोस्रो डिभिजन सेगुन्डा डिभिजन प्रोफेसियोनालमा प्रतिस्पर्धा गर्दै आएको छ। २३ वर्षीय विजय मूलतः डिफेन्डर हुन् र उनी चेन्नईयिन एफसीबाट लोनमा कोलोन पुगेका थिए।
मणिपुरका रहने विजयले आफ्नो फुटबल यात्रा शिलोङ लाजोङबाट सुरु गरेका हुन्। उनले सन् २०१८ मा इन्डियन एरोसविरुद्ध डेब्यू गरेका थिए। त्यसपछि उनले चेन्नई सिटी, रियल कश्मीर, श्रीनिधि डेक्कन र चेन्नईयिन एफसीबाट खेले।
विजयले सन् २०२४ नोभेम्बरमा ला लुजविरुद्ध कोलोन एफसीका लागि डेब्यू गरेका थिए। उनी रोमियो फर्नान्डेसपछि दक्षिण अमेरिकीमा खेल्ने दोस्रो भारतीय खेलाडी बनेका छन्। रोमियोले सन् २०१५ मा ब्राजिलको एट्लेटिको परानाएन्सेबाट लोनमा खेलेका थिए।
जारी सिजनमा कोलोन उरुग्वेको दोस्रो डिभिजनको तालिकामा आठौं स्थानमा छ।