काठमाडौं । राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायर खेल आज (मंगलबार) हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने पहिलो क्वालिफायरमा ललितपुर प्याट्रियट्स र काठमाडौं किङस इलाभेन भिड्दैछन् । ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२:४५ मा सुरु हुनेछ ।
पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्न मैदान उत्रदा ललितपुर र काठमाडौंको लक्ष्य जित निकाल्दै फाइनल पुग्नु हुनेछ । फाइनल प्रवेशका लागि दुवै टोलीले आफ्नो सम्पूर्ण अस्त्र प्रयोग गर्नेछ ।
जारी लिगमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर शीर्ष स्थानमा रहदै क्वालिफायरमा पुगेको हो । ललितपुरले पाँच खेलमा ८ अंक जोड्यो । पहिलो खेल गुमाएपनि ललितपुरले लगातार चार खेल जितेको थियो । र, ललितपुर उक्त जितको लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ ।
यता, रोहन मुस्तफाको कप्तानीमा मैदान उत्रने काठमाडौंले पाँच खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहदै क्वालिफायरको यात्रा तय गरेको हो । जारी लिगमा काठमाडौं लिग चरणमा ललितपुरसंगै पराजित भएको थियो । काठमाडौंलाई आज लिग चरणको हारको बदला लिने अवसर समेत रहेको छ ।
ईपीएलको नियम अनुसार शीर्ष दुई टोलीले क्वालिफायरमा स्थान बनाउने छन् । जस अन्तर्गत ललितपुर र काठमाडौंबीचको विजेता सिधै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ ।
यस खेलमा पराजित हुने टोलीले फाइनल प्रवेशको लागि इलिमिनेटरको विजेतासंग खेल्नेछ । बुधबार हुने इलिमिनेटरमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगरबीच प्रतिस्पर्धा हुनेछ ।