काठमाडौं। ई स्पोर्ट्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको पब्जी मोबाइल एसियन सोडाउनको पहिलो दिनको समाप्तिमा इन्डोनेसिया शीर्ष स्थानमा उक्लिन सफल भएको छ।
शुक्रबार सम्पन्न भएका पाँचमध्ये दुई खेलमा चिकन डिनर जित्दै इन्डोनेसियाले कुल ७६ अंक जोड्दै अग्रता लिएको हो। ५८ अंकसहित पाकिस्तान दोस्रो स्थानमा रहँदा नेपाल रातो टोलीले ५१ अंक बटुल्दै तेस्रो स्थानमा आफ्नो उपस्थिति जमाएको छ।
नेपाल निलो ४३ अंकसहित चौथो स्थानमा रहेको छ। कुल १४ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपालबाट तीन टोली प्रतिस्पर्धा गरिरहेका छन्।
१० लाख रुपैयाँको पुरस्कार राशि रहेको यस च्याम्पियनसिपमा विजेता टोलीले चार लाख रुपैयाँ जित्नेछ। एसियन सोडाउन आगामी जेठ २७ गतेसम्म जारी रहनेछ। बाँकी दुई दिनको खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ।