काठमाडौं। भारतका महान् क्रिकेटरमध्येका एक महेन्द्रसिंह धोनीले तत्कालै सन्न्यास नलिने भएका छन्।
उनले सबै ‘फर्म्याट’को अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन्। तर, इन्डियन प्रिमियर लिग (आइपिएल) भने खेल्दै आएका छन्। यस संस्करणको आइपिएल यस महिनाको अन्त्यमा सकिने छ। तर, उनले तत्कालै सन्न्यासको निर्णय नगर्ने बताएका छन्।
जुलाईमा ४४औं जन्मदिन मनाउन लागिरहेका धोनीले आफूले शरीरको अवस्था हेरेर मात्र निर्णय लिने बताएका छन्।
बुधबार राति कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा । चेन्नई सुपर किंग्सका लागि उनले अन्तिम ओभरमा एउटा छक्का प्रहार गर्दै आफ्नो परिचित शैलीमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
हाल चेन्नई अंक तालिकाको पुछारमा रहेको छ र प्लेअफको दौडबाट बाहिर भइसकेको छ। यसले गर्दा सन् २०१९ पछि भारतका लागि नखेलेका धोनीको चम्किलो करियर अब दुई खेलमै सकिने सम्भावना देखिएको छ।
‘यो आइपिएल सकिएपछि शरीरले यो दबाब सहन सक्छ कि सक्दैन भनेर थाहा पाउन मैले अर्को छ आठ महिना मिहिनेत गर्नुपर्छ। अहिले केही निर्णय गर्दिन,’खेलपछि धोनीले भने।
सन् २०११ को विश्वकप जिताउने कप्तान धोनीलाई कोलकाताको भीडले ऐतिहासिक इडन गार्डेन्स मैदानमा सम्भवत: अन्तिमपटक देख्न पाउँदा भावुक स्वागत गरेका थिए।
‘मैले देखेको माया र स्नेह अत्यन्तै अद्भुत छ। धेरैलाई थाहा छैन यो मेरो अन्तिम खेल हो कि होइन। त्यसैले उनीहरू मलाई खेलेको हेर्न चाहन्छन्,’ उनले भने।
कप्तानी क्षमता, उत्कृष्ट विकेटकिपिङ र शान्त स्वभावले उनलाई भारतमा मात्रै होइन, विश्वभरका क्रिकेटप्रेमीहरूबीच प्रिय बनाएको छ।