लगातार बेञ्चमा कुशल

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको अन्तिम खेलमा पनि बेञ्चमै थन्किएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्।
तर, कुशल लगातार बेञ्चमा छन्। उनलाई युएईविरुद्धको अघिल्लो खेलमा अर्जुन कुमालले परिवर्तन गरेका थिए।
नेपालले यस सिरिजको अन्तिम खेल खेल्न लागेको हो। युएईलाई ३७ र ६ रन (डीएलएस मेथड) ले पराजित गरेको नेपालले ओमानसँग भने १०२ रनको (डीएलएस मेथड) हार बेहोरेको थियो। नेपाल यसपल्ट बदला लिने तयारीमा हुनेछ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले २ परिवर्तन गरेका छन्। ओमानविरुद्धको पहिलो खेलमा महँगो साबित भएका अलराउन्डर करण केशीलाई सोमपाल कामीको स्थानमा ल्याएका छन्।
सोमपालले उक्त खेलमा ९ ओभर बलिङ गर्दै ५९ रन खर्चिएर ४ विकेट लिएका थिए। करणले भने ७ ओभर बलिङ गर्दै ६१ रन खर्चिए पनि विकेटविहीन भएका थिए।
यस्तै, उक्त खेलमा २८ रन बनाएका भीम सार्कीको स्थानमा ओपनर आसिफ शेखलाई टोलीमा फर्काइएको छ।












