इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

काठमाडौं। इन्टर मिलानले २१औंपल्ट सिरी ‘ए’को उपाधि जितेको छ। प्रशिक्षक क्रिस्टियन चिभुको नेतृत्वमा टोलीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै टोलीले सिजनभर प्रभुत्व जमाएको थियो।
घरेलु मैदानमा पार्माविरुद्ध २–० को जित निकाल्दै इन्टरले दोस्रो स्थानको नापोलीभन्दा १२ अंकको अग्रता बनाएको छ। यद्यपि, सिजनका अझै तीन खेल बाँकी छन्।
यस सिजनमा इन्टरको प्रदर्शन निकै सन्तुलित र प्रभावशाली रह्यो। टोलीले ८२ गोल गरेको छ। यो नापोलीभन्दा ३० गोल बढी हो। आक्रमणमा लाउटारो मार्टिनेज (१६ गोल) र मार्कस थुराम (१३ गोल) को जोडी निकै प्रभावकारी रह्यो।
मिडफिल्डमा हाकान चाल्हानोग्लुले पनि महत्त्वपूर्ण योगदान दिएका छन्। उनले लिगमा ९ गोल गरेका छन्। रक्षात्मक रूपमा अलेसान्द्रो बास्टोनी, म्यानुएल अकान्जी र फेडेरिको डिमार्कोको नेतृत्वमा टोलीले हालसम्म मात्र ३१ गोल खाएको छ।
इन्टरको सफलतामा उच्च प्रेसिङ रणनीति मुख्य कारण बन्यो। अप्रिलमा कोमोविरुद्धको खेलमा दुई गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ४–३ को जित निकाल्नु टोलीको दृढता झल्काउने महत्त्वपूर्ण क्षण थियो।
उता प्रतिस्पर्धी टोलीहरू समस्यामा परे। नापोलीका मुख्य खेलाडी स्कट म्याकटोमिने र रास्मुस होइलुन्ड चोटका कारण लामो समय बाहिर रहे। यसले टोलीको प्रदर्शन कमजोर बनायो।
त्यसैगरी एसी मिलानले पनि सिजनभर स्थिर प्रदर्शन गर्न सकेन। प्रशिक्षक मासिमिलियानो एलेग्रीको आगमनसँगै टोलीको खेलशैलीमा परिवर्तन आयो। त राफाएल लियाओ र क्रिस्टियन पुलिसिच जस्ता खेलाडीहरू चोट र कमजोर फर्मका कारण प्रभाव जमाउन सकेनन्।
मिलानले सिजनको दोस्रो भागमा सासुओलो र जेनोआसँग बराबरी खेल्नुका साथै पार्मासँग अप्रत्याशित हार बेहोर्दा अंक दूरी बढ्दै गयो। मार्चमा डर्बीमा जित निकाले पनि त्यसले उपाधि दौडमा खास प्रभाव पार्न सकेन।
अन्ततः मार्चसम्म आइपुग्दा उपाधि कहिले जितिन्छ भन्ने मात्र प्रश्न बाँकी थियो। यसको जवाफ आइतबार इन्टरले औपचारिक रूपमा दियो।










-1777808400835.jpeg&w=3840&q=75)

