बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं। क्याटलान क्लब बार्सिलोना फेमेनी युरोपको प्रतिष्ठित महिला क्लब प्रतियोगिता युइएफए महिला च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
सेमिफाइनलको दोस्रो खेलमा जर्मनीको बायर्न म्युनिखलाई ४–२ ले हराउँदै समग्रमा ५–३ को जितसहित फाइनलमा स्थान बनाएको हो।
अब बार्सिलोनाले फाइनलमा फ्रान्सको लियोनसँग प्रतिस्पर्धा गर्नेछ। नर्वेको ओस्लोमा २३ मेमा हुने उक्त फाइनल बार्सिलोनाका लागि लगातार छैटौंपल्ट फाइनल हुनेछ। क्लबले यसअघि २०२१, २०२३ र २०२४ मा उपाधि जितिसकेको छ।
पहिलो खेल १–१ को बराबरीमा सकिएपछि दोस्रो खेलमा बार्सिलोनाले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्यो। खेलको १३औं मिनेटमा क्यारोलिन ग्राहम हान्सेनको क्रसमा साल्मा पारालुएलोले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्।
तर, १७औं मिनेटमै लिन्डा डाल्मानले गोल गर्दै बायर्नलाई खेलमा फर्काइन्। त्यसपछि २२औं मिनेटमा अलेक्सिया पुटेलासको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत हुँदा बार्सिलोना फेरि अघि बढ्यो।
दोस्रो हाफमा बार्सिलोनाले दबाब कायम राख्यो। ५४औं मिनेटमा इवा पायोरले उत्कृष्ट हेडमार्फत गोल गर्दै अग्रता बढाइन् भने ५८औं मिनेटमा पुटेलासले आफ्नो दोस्रो गोल गर्दै टोलीलाई मजबुत स्थितिमा पुर्याइन्।
७१औं मिनेटमा पेर्निल्ले हार्डरले गोल गर्दै बायर्नलाई केही आशा दिलाइन्। खेलको अन्तिम समयमा उनले अर्को गोल गरे पनि भिडियो सहायक निर्णायक (भीएआर) ले फाउल देखाउँदै उक्त गोल अस्वीकार गर्यो।










-1777808400835.jpeg&w=3840&q=75)

