काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) एक साता मात्रै रोकिने भएको छ।
भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावका कारण बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले आइपिएल रोक्ने गर्ने निर्णय गरेको हो।
वर्तमान परिस्थितिको समग्र मूल्याङ्कनपछि सम्बन्धित निकाय तथा सरोकारवालासँगको परामर्शपछि नयाँ तालिका र खेल हुने स्थानबारे जानकारी दिइने बिसिसिआईले जनाएको छ।
‘हामीले अहिले आइपिएल एक हप्ताका लागि मात्रै स्थगित गरेका छौं। त्यसपछि परिस्थिति मूल्यांकन गरेर अर्को निर्णय लिनेछौं,’ बिसिसिआई उपाध्यक्ष राजीव शुक्लाले भने।
हालसम्म ५७ वटा खेल सम्पन्न भइसकेका छन्। अब १२ वटा लिग खेल बाँकी छन्। फाइनल खेल मे २५ तारिखमा हुने तय थियो। यद्यपि, सुरक्षाको कारण देखाउँदै बिसिसिआईले प्रतियोगिता रोक्ने निर्णय गरेको हो। गत बिहीबार चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीचको खेलअघि ‘अपरेशन सिन्दूर’मा सहभागी सुरक्षाकर्मीहरूको सम्मानमा राष्ट्रिय गानसमेत गाइएको थियो।
धर्मशालामा चलिरहेको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि रद्द गर्नुपर्यो। खेल चलिरहेको बेलामा पाकिस्तानले जम्मू, पञ्जाब र राजस्थान सीमामा मिसाइल र ड्रोन आक्रमण गरेपछि धर्मशालामा ‘ब्ल्याकआउट’ गरिएको थियो। ‘फ्लडलाइट’ बन्द गरेर दर्शकहरूलाई स्टेडियमबाट बाहिर पठाइयो र खेल आधामा नै रोकियो। त्यो खेल लिगको ५८औं थियो।
५७ खेलपछि अंक तालिकामा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंग्लुरु समान १६–१६ अंकसहित अगाडि थिए। तर, रन रेटका आधारमा गुजरात पहिलो स्थानमा थियो।
पञ्जाब तेस्रो, मुम्बई इन्डियन्स चौथो र दिल्ली पाँचौँ स्थानमा थिए। चेन्नई सुपर किङ्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद भने प्लेअफ दौडबाट बाहिर भइसकेका छन्।