एजेन्सी । अफगानिस्तान र आयरल्याण्डले आगामी मार्चमा टेष्ट क्रिकेट खेल्ने भएका छन् । अफगानिस्तानको घरेलु मैदान भारतमा हुने एक खेलको टेष्ट सिरिज आगामी बर्षको मार्च १७ बाट सुरु हुनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट टेष्ट राष्ट्रको मान्यता पाएपछि दुवै टोलीले आफ्नो दोस्रो टेष्ट क्रिकेट खेल्न लागेका हुन् । दुवै राष्ट्रले यसै बर्षबाट टेष्ट राष्ट्रको मान्यता पाएको थियो ।
टेष्ट खेलको डेब्यु खेलमा अफगानिस्तानले भारतसंग गत जुनमा खेलेको थियो । यस्तै आयरल्याण्डले पाकिस्तानसंग गत मेमा डेब्यु खेल खेलेका थिए ।
भारतको देहरादुनमा हुने टेष्ट सिरिजसंगै दुवै टोलीले टी-ट्वान्टी अन्तर्राष्ट्रिय र एकदिवसीय क्रिकेट सिरिज समेत खेल्नेछन् । दुई टोलीबीचको टी-ट्वान्टी फेब्रुवरी २३,२४ र २६ मा हुनेछ । यस्तै मार्च २, ४,७, ९ र १२ मा एकदिवसीय क्रिकेट सिरिज खेल्नेछन् ।