एजेन्सी । अष्ट्रेलियाविरुद्व आगामी डिसेम्बर ६ बाट सुरु हुने चार खेलको टेष्ट सिरिजकाे पहिलाे खेलमा भारतले ओपनर ब्याट्सम्यान पृथ्वी शलाई गुमाउने भएको छ । सिड्नी मैदानमा अष्ट्रेलिया ११ विरुद्वको अभ्यास खेलमा उनले चोट बोकेका छन् ।
अभ्यास खेलको तेस्रो दिन ओपनर ब्याट्सम्यान पृथ्वीले चोट बोकेका हुन् । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले ट्वीट गर्दै उनी पहिलो टेष्ट बाहिर रहेको जानकारी दिएको छ ।
बोर्डले भनेको छ, ‘शुक्रबार बिहान शको रिपोर्ट आएको छ । यसै कारण उनी एडिलेडमा अष्ट्रेलियाविरुद्व ६ डिसेम्बरमा हुने पहिलो टेष्ट म्याच खेल्ने छैनन् । उनी चोट निको हुन पुर्नस्थापना केन्द्रमा जानेछन् ।’

१९ बर्षका पृथ्वीले सो खेलमा ६६ रनको पाली खेलेका थिए । फिल्डिङ गर्ने समय बाउन्ड्री नजिक उनी बल समाउने क्रममा चोट बोकेका थिए ।
चोट लगत्तै टिमका फिजियो प्याट्रिक फरहार्ट र उनका एक सहायकले पृथ्वीलाई समाएर चेन्जिङ रुममा लगेका थिए । लगत्तै उनलाई थप उपचारका लागि अस्पताल लगिएको थियो ।
भारतले अभ्यास म्याचको पहिलो पालीमा ३ सय ५८ रन बनाएको थियो । पृथ्वी ६६ रन बनाउदाँ कप्तान विराट कोहलीले ६४, चेतेश्वर पुजारा ५४, आजिक्या रहाणे ५६ र हनुमा विहारीले ५३ रन बनाएका थिए ।