काठमाडौं । पिस प्वाइन्टले प्रथम केभीएस कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
सानोगौचरणमा भएको फाइनलमा पिस प्वाइन्टले प्राक्सिस्लाई ३–१ गोलले पराजित गर्यो । विजयी टिमका लागि गौरव महर्जन, विकास साउद र कुशल थापा मगरले गोल गरे । प्राक्सिस्का लाक्पा लामाले सान्त्वना गोल फर्काए । प्राक्सिस्का पेम्बा शेर्पा ‘म्यान अफ द म्याच’ घोषित भए ।
उपाधिसंगै पिस प्वाइन्टले ५० हजार तथा प्राक्सिस्ले ३० हजार नगद पुरस्कार हात पारे । सेमिफाइनलमा रोकिएका दुवै टिम शुभयुग र पायोनियरले समान १०–१० हजार नगद पुरस्कार हात पारे ।
काठमाडौं विनायक शिक्षालय (केभीएस) द्वारा आयोजित प्रतियोगितामा प्राक्सिस्का सुजित योञ्जन ‘म्यान अफ द सिरिज’ चुनिए । प्रतियोगिताभर ९ गोल गरेका पायोनियरका करण तामाङ सर्वाधिक गोलकर्ता बने । गोलरक्षकमा प्रस्फुटनका सोहन श्रेष्ठ तथा डिफेन्समा एजिएमका रञ्जन यादव उत्कृष्ट ठहरिए । कोलम्बसले अनुशासित टिमको उपाधि हात पार्यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, केभीएसका प्रिन्सिपल सम्झना लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ १५ गतेदेखि सुरु प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।