काठमाडौं। लुम्बिनी प्रदेश यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा सोमबार च्याम्पियन बनेको छ। लुम्बिनी सर्वाधिक ४ स्वर्ण जित्दै च्याम्पियन बन्यो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा कर्णाली प्रदेश २ स्वर्ण र ५ रजतसाथ दोस्रो भयो। गण्डकी प्रदेश र मधेश प्रदेश समान २ स्वर्ण, १ रजत र १ कांस्यसाथ संयुक्त रूपमा तेस्रो भए। १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशले समान १–१ स्वर्ण जिते।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोस्रो तथा अन्तिम दिन छात्र/छात्रामा समान ३–३ गरी ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। छात्र २ सय मिटरमा गण्डकीका हेमराज चौधरी पहिलो भए। उनले निर्धारित दूरी २४.९ सेकेन्डमा पूरा गरे। मधेशका आयुश चौधरी दोस्रो तथा कोशीका नितेश भट्टराई तेस्रो भए। सोही स्पर्धाको छात्रामा लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो भइन्।
अनुजाले निर्धारित दूरी तय गर्न ३१.४ सेकेन्ड समय खर्चिन्। कोशीकी अस्मिता लाम्गाडे दोस्रो तथा मधेशकी वर्षा योञ्जन तेस्रो बने। नेपालय इन्टरनेसनल म्यानेजमेन्ट प्रा.लि. को सह–आयोजना तथा नेपाल विद्यालय खेलकुद महासंघको संयोजनमा भएको प्रतियोगिताको छात्र ८ सय मिटर दौडमा बागमतीका हस्त सुनारले स्वर्ण जिते।
उनले २ मिनेट ०७.४ सेकेन्ड समय निकाले। कर्णालीका विवेक बोगटीले रजत तथा कोशी नितेश भट्टराईले कांस्य हात पारे। उक्त स्पर्धाको छात्रामा लुम्बिनीकी चाँदनी पासी २ मिनेट ४७.३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन्। कोशीकी जुही राई दोस्रो तथा सुदूरपश्चिमकी रचना बोहरा तेस्रो भए।
छात्र ४ गुणा १ सय मिटर रिलेमा मधेश पहिलो, कोशी दोस्रो र गण्डकी तेस्रो स्थानमा रहे। त्यसै स्पर्धाको छात्रामा लुम्बिनी, कर्णाली र कोशीले क्रमशः शीर्ष तीन स्थान हात पारे।