काठमाडौं । टोकियो ओलम्पिक २०२० शुक्रबारबाट सुरु हुदैछ । विश्वका झण्डै २ सय ६ राष्ट्रले खेल्ने ओलम्पिकलाई विश्व खेलकुदको कुम्भ मेला मानिन्छ ।
सन् १९६४ मा टेकियोमै भएको ओलम्पिकबाट नेपालले ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । सहभागिताको आधा शताब्दी पार गरेपनि ओलम्पिकमा नेपालको सहभागिता ‘सहभागिता’मै सिमित छ ।
तेक्वान्दोका दीपक विष्ट र संगिना वैद्यले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका छन् । बाँकी नेपालको सहभागिता वाइल्ड कार्ड र युनिभर्सालिटी कोटामै सिमित छ ।
टोकियो ओलम्पिक २०२० गत वर्षनै हुनुपर्ने थियो । तर विश्वमा महामारीको रुपमा फैलिएको कोभिडका कारण गत वर्ष प्रतियोगिता हुन सकेन । एक वर्ष सर्यो । जापान सरकार आयोजनामा दृढ रहदै निकै कडाई र दुखका साथ प्रतियोगिताको आयोजना गर्दैछ । नेपालबाट समेत चार खेलमा पाँच खेलाडीले टोकियो ओलम्पिकमा सहभागिता जनाउनेछन् ।
हुन त खेलकुदले अनुशासन सिकाउछ, तर नेपाली खेलकुदको चरित्र कहिल्यै अनुशासित र जवाफदेही देखिएन । ओलम्पिक र विवाद पर्यायवाची जस्तै रहे ।
यस पटक समेत विगतनै नियती दोहरियो । एथलेटिक्सका गोपीचन्द्र पार्की अन्तिम समयमा आएर प्रतियोगिता खेल्न बञ्चित रहे । सतहमा विभिन्न कारण प्रस्तुत गरेपनि भित्री रुपमा नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल एथलेटिक्स संघ बीचको खराब सम्बन्धका कारण एक खेलाडीको सपनामाथि कुठाराघात भयो । छानविन गर्नुपर्ने अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) घटनाको साक्षी बस्यो । खेलाडीको पीडा÷समस्या बोल्नुपर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय संघले एक विज्ञप्ति जारी गरेर आफ्नो धर्म पूरा गर्यो ।
यसअघि जस्तै ओलम्पिकका पदाधिकारी विभिन्न खेलको म्यानेजर भएर जापान उडे । आफ्नो संघबाट कार्यक्रम चलाउन नसक्ने तर अर्को संघको खेलाडीको म्यानेजर बनेर ओलम्पिक घुम्न पदाधिकारीले लाज मानेनन् ।
जे होस टोकियो ओलम्पिकमा ४ खेल स्पर्धामा ५ खेलाडीले चुनौती पेश गर्नेछन् । तर सबै खेलाडी युनिभर्सालिटी कोटा र वाइल्ड कार्डमार्फत टोकियो पुग्न लागेका हुन् । एथलेटिक्स र पौडीमा अनिवार्य युनिभर्सालिटी कोटा आउने गर्छ । जुडो र सुटिङ वाइल्ड कार्ड पाउने भाग्यमानी खेल बन्यो ।
खेलकुद नीतिनै नभएको मुलुकले ओलम्पिकमा पदक जित्ने सम्भावनाको हास्यास्पदक भविष्यवाणी सायद बान्छनीय हुदैन होला ।
तर जे जति ओलम्पिक खेल्न पुगेका छन्, सबै खेलाडीको लक्ष्य प्रर्दशनमा सुधार गर्नुनै हुनेछ ।
एथलेटिक्स :
ट्रयाक एण्ड रोडमा नेपालकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछिन् । उनले सय मिटर दौडमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । उनी युनिभर्सालिटी कोटा अन्तर्गत ओलम्पिक खेल्न लागेकी हुन् ।
सुरुवातमा नेपालले गोपीचन्द्र पार्कीको नाम ओलम्पिकमा सिफारिस गरेको थियो । तर अन्तिम समयमा लिस्टमा नाम दर्ता नभएको भन्दै गोपीलाई बाहिर राखियो र सरस्वतीको नाम सिफारिस गरियो ।
जुडो :
वाइल्ड कार्डको साहारामा जुडोकी सोनिया भट्टले ओलम्पिक खेल्दैछिन् । अन्तराष्ट्रिय जुडो महासंघले वरीयताका आधारमा सोनियालाई ओलम्पिकको टिकट दिएको हो । सोनियाले ४८ किलोमा चुनौती प्रस्तुत गर्नेछिन् । १९ वर्षकी सोनिया नेपालको जुडोकी भविष्य मानिन्छन् । तर, पूरा समय टिकेर खेल्नुनै उनको मुख्य उद्धेश्य हो ।
सुटिङ :
सुटिङकी कल्पना परियार नेपालबाट टोकियो ओलम्पिक खेल्ने अर्की भाग्यमानी खेलाडी हुन् । उनले वुमन्स १० मिटर एयर राईफलमा चुनौती प्रस्तुत गर्नेछिन् । उनी वाइल्ड कार्ड प्राप्त गरेर टोकियो ओलम्पिकको टिकट काटेकी हुन् ।
स्विमिङ :
पौडीमा नेपालबाट गौरिका सिंह र एलेकजेन्डर शाहले प्रतिनिधित्व गर्नेछन् । दुवै युनिभर्सालिटी कोटाबाट ओलम्पिक पुगेका हुन् । एलेकजेन्डर साहले मेन्स सय मिटर फ्रिस्टाइलमा नेपालको प्रतिनिधित्व गर्नेछन् भने गौरिका सिंहले वुमन सय मिटर फ्रिस्टाइलमा चुनौती प्रस्तुत गर्नेछिन् । सामान्यतया पौडीबाट दुई खेलाडीको कोटा देशले प्राप्त गर्नेछन् । त्यसमा एलेक्जेन्डर र गौरिका परेका हुन् । अघिल्लो संस्करणमा ओलम्पिकमा सबैभन्दा कम उमेरकी खेलाडी बनेर चर्चा कमाएकी गौरिकाले ओलम्पिकमा प्रर्दशन सुधारको अपेक्षा गरेकी छिन् ।