काठमाडौं। २६ वर्षपछि एएफसी महिला एसियन कपमा पुग्ने लक्ष्यसहित उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीको यात्रा समूह चरणमै टुंगियो।
कमजोर प्रतिद्वन्द्वीमाथिको सशक्त जितले सुरुमा आशा जगायो। तर, निर्णायक खेलमा बलियो टिम उज्बेकिस्तानसँग पेनाल्टीमा ४–२ ले पराजित भएसँगै नेपालको सपना अधुरै रह्यो।
पहिलो खेलमा नेपालले लाओसमाथि ९–० को जित दर्ता गरेको थियो। त्यसपछि श्रीलंकामाथि ८–० को फराकिलो नतिजाले टोलीको मनोबल उच्च बनायो। तर, अन्तिम खेलमा घरेलु टोली उज्बेकिस्तानसँग ३–३ को रोमाञ्चक बराबरीपछि खेल पेनाल्टीमा पुग्यो र नेपाल चुक्यो।
नेपाललाई एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ मा पुर्याउने लक्ष्यसहित अखिल नेपाल फुटबल संघ (एन्फा)ले बेल्जियमका नागरिक प्याट्रिक डी वाइल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको थियो। एक वर्षे सम्झौतामा आएका वाइल्डे अहिले नतिजाको मूल्याङ्कनको मोडमा पुगेका छन्।
निर्णायक खेलमा नतिजा हात पार्न नसकेपछि उनको भविष्य अन्योलमा छ। नेपाली टोली सोमबार स्वदेश फर्किएको छ। तर, वाइल्डे भने टोलीसँगै नफर्की बेल्जियम प्रस्थान गरेका छन्। एन्फा महासचिव किरण राईका अनुसार प्रशिक्षक वाइल्डे केही समयको विश्रामपछि मात्रै काठमाडौं फर्किने छन्।
वाइल्डे फर्किएपछि मात्रै निरन्तरता दिने वा नदिने भन्ने टुंगो लाग्ने उनी बताउँछन्। ‘अहिलेसम्म उहाँसँग प्रत्यक्ष कुरा भएको छैन। यो नतिजापछि उहाँको मानसिक अवस्था के छ भन्ने हामीलाई थाहा छैन। उहाँ फर्किएपछि मात्रै उहाँको भविष्यबारे टुंगो लाग्नेछ,’ उनले भने।
हालको परिदृश्यमा नेपाली महिला टोलीको अगाडि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता तत्काल छैन। त्यसैले प्रशिक्षक वाइल्डेको निरन्तरता वा अलग्गिने निर्णय निकट भविष्यमै तय हुने अपेक्षा गरिएको छ।