पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

काठमाडौं। पथरी–११ माथि फराकिलो जित दर्ता गर्दै मच्छिन्द्र क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनल प्रवेश गरेको हो।
ठूलो टुँडिखेलमा जारी प्रतियोगितामा मच्छिन्द्रले ५–२ को जित निकालेको हो। मच्छिन्द्रको जितमा मिलन चाम्लिङ, शौरभ लिम्बू, अविनाश स्याङ्तान र श्याम मूर्मुले गोल गरे।
खेलमा सुरुआती अग्रता मच्छिन्द्रले लिएको थियो। १३औं मिनेटमा युवराज ढकालको पासमा मिलनले सुरुआती गोल गरेका थिए। त्यसको चार मिनेट नबित्दै पथरीले खेल बराबरीमा ल्याएको थियो।
पेनाल्टी बक्समा पाएको अवसरलाई मौसम लिम्बूले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। ३१औं मिनेटमा मनोज राईको गल्तीको फाइदा उठाउँदै मिलनले व्यक्तिगत दोस्रो गोल गरे।
पहिलो हाफमा २–१ को अग्रता बनाएको मच्छिन्द्रले दोस्रो हाफमा थप ३ गोल गर्न सफल रह्यो। ५०औं मिनेटमा सौरभले गोल गर्दै अग्रता फराकिलो बनाए । मिलनको पासमा गोल गरेका थिए।
७०औं मिनेटमा सुजल डंगोलले अन्तर घटाए। राम वाजीको कर्नर प्रहारमा गोलरक्षक प्रदिप भण्डारीबाट रिबाउन्ड भएर आएको बललाई सुजलले जाली चुमाए। ८१औं मिनेटमा मच्छिन्द्रका लागि अविनाशले चौथो गोल गरे।
मिलन चाम्लिङको प्रहारमा रिबाउन्ड भएर आएको बललाई अविनाशले जाली चुमाए। दोस्रो हाफको इन्जुरी समयमा श्यामले पाँचौ गोल गरे। रोमन भुजेलको मिलाइदिएको ‘वान भर्सेस वान’को अवसरलाई श्यामले गोल गरेका हुन्।
खेलको ‘म्यान अफ दी म्याच’ मच्छिन्द्रका मिलन चाम्लिङ घोषित हुँदै आठ हजार एक सय प्राप्त गरे। प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा रोलिङ क्लब धुलाबारी र न्यूरोड टिम (एनआरटी) भिड्दैछन्।











-1776781891908.jpeg&w=3840&q=75)
