काठमाडौं। विश्वकप विजेता स्पेनले सोमबार बेल्जियमलाई ६–२ ले पराजित गर्दै महिला युरोपियन च्याम्पियनसिप (युरो २०२५) को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
यो जितसँगै स्पेनले युरोमा पहिलोपटक लगातार दुई खेल जित्ने इतिहास बनाएको छ। पहिलो खेलमा पोर्चुगललाई ५–० ले हराएको स्पेनले दुई खेलमा कुल ११ गोल गरिसकेको छ।
दुईपटककी बालोन डी’ओर विजेता एलेक्सिया पुटेलासले बेल्जियमविरुद्ध दुई गोल गर्दै लगातार दोस्रो पटक ‘प्लेयर अफ द म्याच’ बन्न सफल भइन्।
खेलपछि उनले भने, ‘हामी उत्कृष्ट प्रदर्शन गरिरहेका छौं। तर, अझै धेरै सुधार गर्न बाँकी छ। म अहिले मानसिक रूपमा उत्कृष्ट महसुस गरिरहेकी छु। खेल हेर्ने र बुझ्ने क्षमताले मलाई सहयोग पुर्याइरहेको छ। त्यसैले म अरूलाई पनि सहयोग गर्न सकिरहेको छु।’
स्पेनले समूह ‘बी’को शीर्ष स्थानमा ६ अंकसहित कब्जा जमाएको छ। इटाली दोस्रो स्थानमा ४ अंकसहित छ भने पोर्चुगलको १ अंक छ।
बेल्जियम अंकविहीन छ र प्रतियोगिताबाट बाहिरिसकेको छ। समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्नेछन्। अब स्पेनले शुक्रबार इटालीसँग अन्तिम खेल खेल्नेछ भने पोर्चुगल र बेल्जियमबीच अर्को खेल हुनेछ।
खेलको सुरुआतदेखि नै स्पेनले बेल्जियमको पोस्टमा दबाब बनायो। मारियोना काल्देन्टेइको पासमा भिक्की लोपेजले बल सजिलै सेट गरिन् र पुटेलासले कुनामा सुन्दर फिनिस गरिन्।
तर, दुई मिनेटमै बेल्जियमले टेस्सा वुल्लार्टको कर्नरमा जस्टिन भानहेवर्माएतले हेडर गर्दै खेल बराबरीमा ल्याइन्।
स्पेनकी कप्तान आइरेने पारेदेसले कर्नरबाट आएको बललाई हेडर गर्दै खेल २–१ बनाइन्। दोस्रो हाफको सुरुआतमै बेल्जियमले फेरि बराबरी गर्यो। हान्ना यूरलिङ्सको गोल पहिले अफसाइड भनेर रद्द गरिएको थियो। तर, भिएआरमार्फत गोल मान्यता दिइयो।
लगत्तै पुटेलासको पासमा एस्टर गोन्जालेजले स्पेनको लागि तेस्रो गोल गरिन्। त्यसपछि गोन्जालेजको प्रहार रोकिन जाँदा मारियोनाले फिनिस गर्दै चौथो गोल थपिन्।
क्लाउडिया पिनाले २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै खेलको सबैभन्दा मनमोहक क्षण दिइन्। त्यसपछि पुटेलासले आफ्नो दोस्रो गोल गर्दै स्कोरलाई ६–२ मा पुर्याइन्।