अन्तिम १६ बाटै बाहिरियो मियामी
आइतबार, असार १५, २०८२खेलपाटी संवाददाता

काठमाडौं। लिओनल मेसी र उनको क्लब इन्टर मियामी क्लब विश्वकपबाट बाहिरिएको छ।
एटलान्टामा भएको प्रि–क्वार्टरफाइनल (अन्तिम १६) मा मेसीको पूर्वक्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग ४–० को लज्जास्पद हार बेहोर्दै इन्टर मियामी प्रतियोगिताबाट बाहिरिएको हो।
खेलको पहिलो हाफमै पिएसजीले चार गोल गर्दै स्पष्ट जित दर्ता गर्यो। अनमार्क रहेका जोआओ नेभेसले छैठौं मिनेटमा हेडर गर्दै पहिलो गोल गरे। त्यसको आधा घण्टापछि टिमको उत्कृष्ट पासिङ मूभको अन्त्य गर्दै उनले नै दोस्रो गोल गरे।
४४औं मिनेटमा इन्टर मियामीका थमस अविलेसले आफ्नै पोस्टमा गोल गरेपछि स्कोर ३–० भयो। पहिलो हाफको अन्त्यतिर अचार्फ हाकिमीले चौथो गोल गर्दै इन्टर मियामीको पुनरागमनको ढोका बन्द गरे।
अब पिएसजीले शनिबार हुने क्वार्टरफाइनलमा फ्लामेन्गो र बायर्न म्युनिखबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।













