काठमाडौं। सावित्रा भण्डारी साम्बाको ४ गोलसँगै नेपालले एएफसी एसियन कप छनोटमा सानदार विजयी सुरुआत गरेको छ।
आइतबार सम्पन्न समूहचरणको पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले पराजित गरेको हो। नेपालको यो १००औं अन्तर्राष्ट्रिय खेल हो। नेपालको यो शतकीय खेललाई अविष्यमरणीय बनाउन साम्बाबाहेक अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमार घिसिङले समान एक गोल थपेकी हुन्।
खेलको १२औं मिनेटमै नेपालले अनिताको गोलमार्फत सुरुआती अग्रता लियो। साम्बाले हेडरमार्फत दिएको बललाई उनले हलुका चेस्टिङ गर्दै जाली चुमाइन्।
नेपालले पहिलो हाफ सकिन केही समय अघि अग्रता दोब्बर बनायो। अनिताको उत्कृष्ट क्रसलाई यही खेलमा कप्तानी जिम्मेवारी पाएकी साम्बाले हेडरमार्फत गोल गरिन्। पहिलो हाफ सामान्य प्रदर्शन गरेको नेपाल दोस्रो हाफमा आक्रामक देखियो।
दोस्रो हाफको सुरुआती दुई मिनेटमै नेपालले तेस्रो गोल थप्यो। सबिता रानामगरले बक्सभित्रबाट दिएको कट पास बललाई सरुले पहिलो टचमै जाली चुमाइन्। उनको यो ५०औं अन्तर्राष्ट्रिय खेल हो।
५५औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन्। लाओसकी किपरले क्लियर गर्न खोजेको बल साम्बाको खुट्टामै पुगेको थियो। उनले उक्त बललाई जाली चुमाइन्।
त्यसको एक मिनेटपछि नै रश्मीले अर्को गोल थपिन्। योसँगै नेपालले ५–० को फराकिलो अग्रता लियो। ७४औं मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन्। नेपालले त्यसपछि तीन गोल थप्यो। ७९औं मिनेटमा साम्बाले ६२औं अन्तर्राष्ट्रिय गोल गरिन्। ८३औं वैकल्पिक खेलाडी केसीले अर्को गोल थप्दा नेपालले ८–० को फराकिलो अग्रता लिइसकेको थियो। तर, त्यसको एक मिनेटपछि नै साबित्राको प्रहार लाओसको डिफेन्डरलाई लाग्दै गोल हुन पुग्यो।