काठमाडौं। नयाँ प्रशिक्षक, नयाँ कप्तान र नयाँ रणनीतिसहित मैदान उत्रिएको नेपाली महिला फुटबल टोलीले एएफसी महिला एसियन कप छनोटमा सानदार सुरुआत गरेको छ।
आइतबार सम्पन्न समूह चरणको पहिलो खेलमा नेपालले लाओसलाई ९–० को फराकिलो अन्तरले पराजित गर्दै १००औं अन्तर्राष्ट्रिय खेललाई ऐतिहासिक जितमा बदल्यो।
कप्तानको जिम्मेवारी पाएकी सावित्रा भण्डारी ‘साम्बा’ले एक्लैले चार गोल गर्दै नेतृत्वको भार सफलतापूर्वक बोकिन्। अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमार घिसिङले पनि गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
बेल्जियमका नागरिक प्याट्रिक डे विल्डेले पहिलो पटक मुख्य प्रशिक्षकको भूमिकामा नेपाली राष्ट्रिय महिला टोलीको ‘टचलाइन’ सम्हालेका थिए। र, २० दिनमै उनले ल्याएको स्पष्ट रणनीति मैदानमा देखियो पनि।
‘९–० को नतिजा मात्रै होइन, त्यो गोल गर्ने शैली नै उत्कृष्ट थियो। म खुसी छु, खेलाडीहरूले आत्मविश्वास देखाए,’ खेलपछि उनले भने।
पहिलो खेलमै मुख्य खेलाडीलाई आराम
तुलनात्मक रूपमा लाओस नेपालभन्दा कमजोर टोली हो। फिफा वरीयतामा नेपाल १०० र लाओस १०७औं स्थानमा छ। प्याट्रिक यो कुरालाई नकार्न सक्दैनन्। त्यसैले होला उनले नियमित खेलाडी सुरुआती रोजाईमा उतार्न उचित ठानेनन्। नियमति कप्तान अञ्जिला तुम्बाप्पो सुब्बालाई नै आराम दिए।
टोलीका सर्वाधिक गोलकर्तासमेत रहेकी सावित्रालाई उनले एकपटक विश्वास गरे। त्यति मात्रै होइन गोल पोस्टको जिम्मेवारी पनि उनले कम अनुभवी खेलाडी मानिने अञ्जना रानामगरलाई दिन हिचहिचाएनन्।
३–२–३–२ शैलीमा उनले टोलीलाई उतार्दा रक्षापंक्तिमा गीता रानामगरसँगै निशा थोकर र समीक्षा घिमिरेले पहिलो रोजाई मै स्थान पाए। प्राय: सेकेन्ड हाफमा मैदान उत्रिने गरेकी डिफेन्सिभ मिडफिल्डमा सरुले पनि सुरुआती ११ मै स्थान पाइन्। योसँगै उनलाई सरस्वती हमालले साथ दिइन्। ‘प्लेमेकर’ प्रीति राईलाई भने आराम पाएकी थिइन्।
पूर्व कप्तानसमेत रहेकी रेणुका नगरकोटीलाई प्याट्रिले पुरानै भूमिकामा मौका दिए। सविता रानामगरले लेफ्ट र अनिता बस्नेतले राइट विंग सम्हालेकी थिइन्। आक्रमणको जिम्मेवारी भने कप्तान साम्बा र रश्मीले पाए। उनको यो रणनीति १२ मिनेटमै सफल भयो।
उनी भन्छन्,‘साइडलाइनबाट निर्देशन दिन सहज हुन्छ। तर, ड्रिबल र पास गर्ने, जोखिम उठाउने काम खेलाडी नै गर्छन्। आज मेरा खेलाडीले त्यो गरे।’
गोलको वर्षा
नेपालले खेलको १२औं मिनेटमै अग्रता लियो। सावित्राको हेडर पासलाई अनिताले चेस्टिङ गर्दै जाली चुमाइन्। पहिलो हाफको अन्त्यतिर सावित्राले हेडरमार्फत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाइन्।
दोस्रो हाफमा नेपालले अझ आक्रामक रूप लिएपछि गोलको वर्षा सुरु भयो। सविताको पासमा सरुले ‘वान टच’मा गोल गरिन्। साम्बाले ५५औं मिनेटमा व्यक्तिगत दोस्रो र ७४औं मिनेटमा ह्याट्रिक पूरा गरिन्। ७९औं मिनेटमा उनले चौथो गोल थपिन्। योसँगै उनले आफ्नो ६२औं अन्तर्राष्ट्रिय गोल पूरा गरिन्।
रश्मी र अनिताले पनि गोल गर्दा नेपाल ८–० को अवस्थामा पुगिसकेको थियो। ८४औं मिनेटमा साम्बाको प्रहार लाओसको डिफेन्डरमा लागेर गोल हुँदा स्कोरलाइन ९–० मा पुग्यो।
अब लक्ष्य के?
नेपालको अब दोस्रो खेल अब श्रीलंकासँग खेल्ने छ। पहिलो खेलमा देखिएको आत्मबल र रणनीतिक स्पष्टतालाई निरन्तरता दिन सकेमा नेपाल समूहचरण पार गर्ने बलियो दाबेदार बन्न सक्छ।
तर, प्रश्न फेरि उठ्छ– के नेपाल आफूभन्दा ४९औं स्थान माथि रहेको घरेलु टोली उज्बेकिस्तानलाई हराउन सक्षम छ त? तर, प्याट्रिक अहिले टोली निकै आत्मविश्वासी बनेको दाबी गर्छन्। त्यसैले अब टोली लाओसविरुद्धको जस्तै नतिजा ल्याउन सक्षम रहेको उनको भनाइ छ।
उनी भन्छन्, ‘सबैले उज्बेकिस्तानको कुरा गर्छन्। तर, हामीले अहिलेसम्म पाँच खेल लगातार जितेका छैनौं। अब हामी त्यो बाटोमा छौं। मैले खेलाडीहरूलाई भनेको थिएँ—हामी फेरि म्यान विनिङ मेन्टालिटी लिएर खेल्नुपर्छ।’
चौथोपल्ट एसिया कप खेल्ने लक्ष्य बोकेर उज्बेकिस्तान पुगेको नेपालले आशाजनक सुरुआत गरेको छ। अब उनी बुधबार श्रीलंकाविरुद्ध हुने खेलमा यही लय कायम राख्ने लक्ष्यमा छन्। उक्त खेलमा पनि यस्तै ‘म्याच विनिङ’को मानसिकता बोकेर जाने उनी बताउँछन्।