काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपालले आज आईतबार लाओसविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । उज्बेकिस्तानमा हुने खेल नेपाली समय अनुसार सवा ६ बजे सुरु हुनेछ ।
नयाँ प्रशिक्षकमा पेट्रिक डी वाइल्डको नेतृत्वमा नेपालले एसियाली महिला फुटबलको सबैभन्दा ठुलो परिक्षा दिदैछ । एसियन कप खेल्ने छनोटको रुपमा रहेको यस प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहदै प्रतियोगितामा छनोट हुने लक्ष्यमा छ ।
लाओसविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्न लागेको नेपालले दोस्रो खेलमा श्रीलंका र तेस्रो खेलमा घरेलु टोली उज्बेकिस्तानसँग खेल्नेछ । नेपालका लागि उज्बेकिस्ताननै सबैभन्दा बलियो चुनौतीको रुपमा रहने आकलन गरिएको छ ।
पछिल्लो समय महिला फुटबलमा राम्रो प्रगति गरिरहेको नेपाल फिफा वरियतामा लाओसभन्दा ७ स्थान माथि छ । नेपाल फिफा वरियताको १०० स्थानमा रहदाँ लाओस १ सय ७ औं स्थानमा छ ।
पछिल्लो समय एसियाली सहित युरोपेली क्लब फुटबलमा ब्यस्त रहेका एन्जिला सुब्बा, सावित्रा भण्डारी, रेखा पौडेल लगायतका खेलाडीको उपस्थिती महिला फुटबलको बलियो पक्ष हो ।
राष्ट्रिय महिला फुटबल टिमको ऐतिहासिक सयौं खेलको रुपमा रहेको लाओसविरुद्धको खेललाई सुखद बनाउने लक्ष्यमा खेलाडीहरु रहेका छन् ।