काठमाडौं। नेसन्स लिगको फाइनलअघि भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो र युवा स्टार लामिन यमनमध्ये को उत्कृष्ट भन्ने बहस छेडिएको थियो।
अन्तत: भर्खरै करिअर सुरुआत गर्न लागेका यमलभन्दा करिअरको अन्त्यनजिक रहेको आफूले उत्कृष्ट रहेको रोनाल्डोले प्रमाण दिएका छन्।
रोनाल्डोले नेसन्स लिगको ट्रफी उचाल्दा स्टेडियमभरि ‘विइ आर द च्याम्पियन’को धुन गुञ्जियो। त्यो क्षणभन्दा केही समयअघि पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै उपाधि जितेको थियो।
म्युनिखमा आइतबार सम्पन्न फाइनल खेल अतिरिक्त समयमा २–२ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टीमार्फत गरिएको हो। पोर्चुगलका गोलरक्षक डिएगो कोस्टाले स्पेनका अल्भारो मोराटाको चौथो पेनाल्टी बचाए। त्यसपछि रुबेन नेभेसले निर्णायक पाँचौं पेनाल्टीमा गोल गर्दै पोर्चुगलको जित पक्का गरे।
मोराटाको पेनाल्टी मात्रै असफल भयो, बाँकी सबैले सफलतापूर्वक गोल गरेका थिए। मोराटा निकै निराश देखिन्थे। रोनाल्डोले आफ्नो कीर्तिमानी १३८औं अन्तर्राष्ट्रिय गोल गर्दै खेलको ६१औं मिनेटमा पोर्चुगललाई बराबरीमा ल्याए। त्यसअघि स्पेनका मिकेल ओयार्जाबालले पहिलो हाफको अन्त्यतिर अग्रता दिलाएका थिए।
ओयार्जाबालले पेड्रीको पासमा डिएगो कोस्टालाई छक्याउँदै ४५औं मिनेटमा गोल गरेका थिए। खेलपछि उनले भने, ‘दुर्भाग्यपूर्ण समयसँगै यो महसुस फरक हुनेछ। दोस्रो हाफमा हामी थाकेका थियौं। वैकल्पिक खेलाडीले पोर्चुगलको खेललाई फरक बनायो। तर, हाम्रो टिममा गर्व छ र भविष्यमा फेरि उपाधिनजिक पुग्न लडिरहनेछौं।’
स्पेनले सेमिफाइनलमा फ्रान्सलाई ५–४ ले हराएको उत्कृष्ट आक्रमणात्मक लय यो फाइनलमा देखाउन सकेन। खेलको पहिलो गोल भने भाग्यमानी रूपमा मार्टिन जुबिमेन्डीले २१औं मिनेटमा गरे। त्यसबेला पोर्चुगलको डिफेन्स लमिन यमलको क्रस सम्हाल्न चुकेका थिए।
तर, पाँच मिनेटमै नुनो मेन्डेसले उत्कृष्ट सट प्रहार गर्दै बराबरी गोल फर्काए। २२ वर्षीय लेफ्ट ब्याक मेन्डेस खेलको ‘प्लेयर अफ द म्याच’ पनि घोषित भए। उनले नै रोनाल्डोको गोलमा बल निकाल्दिएका थिए। यमललाई प्रभावहीन बनाए अनि पेनाल्टी सुटआउटमा आत्मविश्वासपूर्वक गोल पनि उनले नै गरे।
त्यस बेलासम्म रोनाल्डो थकित हुँदै ८८औं मिनेटमा मैदान छाडिसकेका थिए। उनलाई प्रशिक्षक रोबर्टो मार्टिनेजले अँगालो हाले। रोनाल्डोले यसअघि २५ वर्षपछि जर्मनीमाथि पोर्चुगललाई पहिलो जित दिलाएका थिए।
मेन्डेससहित पेरिस सेन्ट–जर्मेनका साथीसँगै गोनसालो रामोस, जोआओ नेभेस र भिटिन्हाले पनि एक साताभित्रै दोस्रो ठूलो ट्रफी जितेका छन्। यसअघि उनीहरूले सोही रंगशालामा च्याम्पियन्स लिग पनि जितेका थिए।