काठमाडौं। कोशी प्रदेशले प्रदेशस्तरीय पुरुष हक्की प्रतियोगिताको उपाधि आइतबार जितेको छ।
मध्यपुर थिमी नगरपालिका दिब्यश्वरीस्थित रोयल नेपाल फुटसलमा भएको फाइनलमा कोशीले गण्डकी प्रदेशलाई ५–३ गोलले पराजित गर्यो। कोशीका मनोज चौधरीले २ तथा प्रदीप राजवंशी, डिल्ली चौधरी र रोशन चौधरीले समान १–१ गोल गरे। गण्डकीका अशिम बहिकले २ तथा पवन परियारले १ गोल गरे।
कोशी मनोज चौधरी फाइनलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उपाधिसंगै कोशीले ३० हजार तथा गण्डकीले २० हजार नगद पुरस्कार पाए। बागमती प्रदेश हक्की संघद्वारा आयोजित प्रतियोगितामा कोशीका रोशन चौधरी उत्कृष्ट खेलाडी चुनिए।
गण्डकीका पवन परियार उत्कृष्ट डिफेन्डर, सुदूरपश्चिमका विवेक जोशी उत्कृष्ट गोलरक्षक र बागमतीका सुजल महर्जन उदीयमान खेलाडी बने। प्रदीप राजवंशी सर्वाधिक गोलकर्ता भए।
एकदिने प्रतियोगितामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम गरी ६ टिम सहभागी थिए।