काठमाडौं। अन्तिम ओभरमा दुई विकेट गुमाएपछि नेपाल आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा ह्याट्रिक जित निकाल्न चुकेको छ।
नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक एक र नेदरल्यान्ड्समाथि पाँच विकेटको जित हात पारेको थियो। तर, डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सम्पन्न तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग २ रनले पराजित भएको हो।
यो नतिजासँगै १९ खेलबाट २४ अंक जोडेको स्कटल्यान्ड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। सातौं स्थानमा यथावत् रहेको नेपालको १५ खेलमा १० अंक जोडेको छ।
स्कटल्यान्डले दिएको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा मात्र ३२१ रन बनाउन सक्यो । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले बनाएको यो सर्वाधिक योगफल हो ।
अन्तिम ओभरमा ८ विकेट गुमाइसकेको नेपाललाई जितका लागि सात रनको चाहिएको थियो। तर, क्रिजमा रहेका करण केसी र ललितनारायण राजवंशीले लगातार दुई विकेट गुमाएपछि खेल स्कटल्यान्डको पक्षमा गएको हो।
नेपालका सोमपाल कामीले सर्वाधिक ६७ रन बनाए। ४४ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे।
भीम सार्कीले ८५ बलमा ८ चौकासहित ७३ रन बनाए। ५१ बलमा २ चौका प्रहार गरेका दीपेन्द्रसिंह ऐरीले ५६ रनको योगदान दिए।
आसिफ शेख ३९ रनमा आउट हुँदा कुशल भुर्तेल र करण केसीले समान १७ रन जोडे। स्कटल्यान्डका म्याकेन्जी जोन्सले सर्वाधिक ३ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रन बनाएको हो। रिचीले सर्वाधिक १०२ रन बनाएको थियो। ११४ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे। रिची र क्रसले छैटौं विकेटका लागि १२५ रनको साझेदारी गरेका थिए।
६२ बलमा १२ चौका र ३ छक्का प्रहार गरेका क्रस ९६ रनमा अविजित रहे। चार्ली टियरले ६५ बलमा ९ चौकासहित ६८ रन बनाए। मार्क वार्ट २१ रनमा अविजित रहे।
नेपालका करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए।