ग्यारीको काँधमा श्रीलंकाली टोली

काठमाडौं। श्रीलंकाले ग्यारी कर्स्टनलाई पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
कर्स्टनको दुई वर्षे कार्यकाल १५ अप्रिल मा सुरु हुनेछ। उनी १४ अप्रिल २०२८ सम्म यस भूमिकामा रहनेछन्। अर्को पुरुष एकदिवसीय विश्वकप २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने तालिका छ।
कर्स्टन हाल स्थिरता र निरन्तर प्रदर्शनको खोजीमा रहेको श्रीलंकाली टोलीमा सामेल हुनेछन्। उनले यो भूमिकामा सनथ जयसूर्याको स्थान लिनेछन्।
५८ वर्षीय कर्स्टनसँग व्यापक प्रशिक्षण अनुभव छ। उनी २००८ देखि २०११ सम्म भारतको मुख्य प्रशिक्षक थिए। उनको कार्यकालमा भारतले एकदिवसीय विश्वकप जितेको थियो। त्यसपछि उनले २०११ देखि २०१३ सम्म दक्षिण अफ्रिकाको मुख्य प्रशिक्षकको रूपमा काम गरे।
यस अवधिमा टोली टेस्ट वरीयतामा शीर्ष स्थानमा पुग्यो। हालैको टी–२० विश्वकपमा कर्स्टन नामिबियाको सल्लाहकार प्रशिक्षक रहेका थिए।
टी-२० विश्वकपपछि श्रीलंकाको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका जयसूर्याले अब हाई पर्फर्मेन्स सेन्टरको नेतृत्व गर्नेछन्।
उनको प्रशिक्षणमा श्रीलंकाले २७ वर्षमा पहिलो पटक घरेलु मैदानमा भारतलाई एकदिवसीय शृङ्खलामा पराजित गरेको थियो। यद्यपि, टी–२० विश्वकपमा श्रीलंका सुपर ८ चरणमा प्रतियोगिताबाट बाहिरिएको थियो।













-1773053712375.png&w=3840&q=75)
