विभागीय डर्बीमा आर्मी हाबी

काठमाडौं। विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा पुलिसलाई आर्मीले ४–१ गोल अन्तरमा हराएको हो। आर्मीको यो छैठौं जित हो। लिगमा ९ खेल खेलेको आर्मीले २० अंक जोडेको छ।
पुलिसको भने यो पाँचौं हार हो। समान खेलबाट पुलिसको ८ अंक छ। खेलको १८औं मिनेटमा आर्मीको जिलेस्पीजंग कार्कीको क्रसमा निराजन धामीको हेडर पोललाई छोएर बाहिरियो।
त्यसको दुई मिनेटपछि पुलिसको धिरेन्द्रबहादुर शाहले पेनाल्टी बक्स भित्रदेखि साँगुरो एंगलबाट प्रहार गरेको बल आर्मीका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गर्दै टोलीको संकटलाई टारे।
३०औं मिनेटमा निराजनको गोलमा आर्मीले सुरूआती अग्रता लियो। तर, आर्मीले अग्रता धेरै बेर जोगाउन सकेन। ४२औं मिनेटमा दशरथ गिरीले गोल गर्दै पुलिसलाई खेल फर्काए।
५६औं मिनेटमा जिलेस्पीको प्रहारलाई रिबाउन्डमा पेम्बा दोर्जे लामाले गोल गर्दै आर्मीलाई पुन: अग्रता दिलाए। ७०औं मिनेटमा निराजनले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई सहज स्थितिमा पुर्याए। खेलको इन्जुरी समयमा किरण सुनारले गोल गर्दै आर्मीलाई ४–१ को जित दिलाए।







-1773053712375.png&w=3840&q=75)




